
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ चवरका एक व्यक्तिको जाजरकोटमा विद्युत् जडानका क्रममा करेन्ट लागेर मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका ४ गुवारा नजिक पोलमा चढेर काम गर्ने क्रममा शिशिर चन्दको मृत्यु भएको हो ।
विद्युत् जडानका लागि बिजुलीको पोलमा चढेका शिशिरको घटना स्थलमै मृत्यु भएको र बिजुलीको तारमा झुन्डिएको स्थानीयले बताएका छन् । अहिले भने डोरीको सहायताले शिशिरको शव भुईँमा निकालिएको छ । शिशिर आठबिसकोट नगरपालिका वडा नम्बर ११ का वडा सदस्य रामबहादुर चन्दका कान्छा छोरा रहेको बताइएको छ । उहाँ हाल जाजरकोटको नलगाड नगरपालिका ७ मा बस्दै आउनुभएको थियो ।
कर्मचारी थिएनन शिशिर
मृतक चन्द विद्युत् कार्यालयका कर्मचारी नरहेको बताइएको छ । वडा नं ३ र ४ मा विद्युत् लाइन जोड्न त्यहाँका कर्मचारी चन्द बुढा र सत्य जैसी गएका थिए । उनीहरूले मृतक चन्दलाई लाइन जोड्न जाऊ भनी साथमा लिएको देखिन्छ । विद्युत्को जस्तो संवेदनशील कार्यमा अदक्ष व्यक्तिलाई काममा लिनु विद्युत् प्राधिकरणको लापरबाही देखिन्छ ।
घटना पछि कर्मचारी बुढा र जैसी फरार थिए । अहिले उनीहरूलाई प्रहरीले समातेको वडा नं ४ का वडा अध्यक्ष बद्री पन्तले जानकारी दिनुभयाे । अध्यक्ष पन्तका अनुसार घटनाको सत्य तथ्य जानकारी पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।