Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा झन्डै दोब्बरले बढ्यो आत्महत्या ! 

रुकुम पश्चिममा एक वर्षको अवधिमा आत्महत्या झन्डै दोब्बरले बढेको छ । जिल्ला प्रहरी कार्यालय दर्ता भएका आत्महत्याका घटना अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा आत्महत्याका घटना झन्डै दोब्बरले बढेका हुन् । २०८०/०८१ मा जिल्लाभरमा २५ वटा आत्महत्याका घटना भएका थिए । तर बितेको आर्थिक वर्ष २०८१/०८२ मा त्यो सङ्ख्या बढेर ४० मा पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बितेको वर्षमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार २०८०/०८१ मा पुरुष ८, महिला ३ र बालबालिका १० गरी २५ जनाले आत्महत्या गरेका थिए । जसमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या भएको थियो । २१ जनाले झुन्डिएर आत्महत्या गर्दा ३ जनाले विष सेवन र हतियार तथा औजार प्रयोग गरेर १ जनाले आत्महत्या गरेका थिए ।

बितेको आर्थिक वर्षमा पनि सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएका छन् । ३३ जनाले झुन्डिएर आत्महत्या गर्दा ५ जनाले विष सेवन र २ जनाले हाम फालेर आत्म हत्या गरेको डिएसपी विष्टले जानकारी दिनुभयो । गत वर्ष आत्महत्या गर्नेमा १९ जना पुरुष, ८ जना महिला र ७ जना बालबालिका रहेको उहाँको भनाई छ ।

आत्महत्याका कारणहरू भने विभिन्न रहेका छन् । आत्महत्या गर्नुका पछाडि मानसिक रोग, परीक्षा, व्यवसाय र प्रेममा असफल, गरिबी, बालविवाह, बेरोजगारी, पारिवारिक विवाद लगायत देखिएको डिएसपी विष्ट बताउनुहुन्छ । 

जिल्लामा पछिल्ला वर्षहरूको रेकर्ड हेर्दा आत्महत्याको चिन्ताजनक अवस्था रहेको उहाँले बताउनुभयो । बर्सेनि आत्महत्या बढ्दै जानु समाजका लागि चिन्ताजनक विषय रहेकोले बेलैमा सबै जना यसको रोकथाममा लाग्नुपर्ने उहाँ बताउनुहुन्छ । बालबालिकाले समेत आत्महत्या गरिरहेकोले यो झनै चिन्ता जनक विषय भएको डिएसपी विष्टले बताउनुभयो ।

२ वर्षमा मात्र जिल्लामा १७ जना बालबालिकाले आत्महत्या गरिसकेको र यो निकै चिन्ताको विषय रहेको उहाँको भनाई छ । कुनै एउटा निकायले मात्र नभई सबै क्षेत्रले आत्महत्या रोकथामका लागि बेलैमा हातेमालो गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । धेरै ढिलो भएमा आत्महत्याले थप विकराल रूप लिन सक्ने उहाँले बताउनुभयो ।

आत्महत्या रोकथामका लागि प्रहरीले अभियान समेत चलाइरहेको र विशेष गरी स्थानीय तह सक्रियतापूर्वक लाग्नुपर्ने अवस्था रहेकोमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update