
रुकुम पश्चिममा बितेको आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै आधा सङ्ख्याले घटेर मृत्यु हुनेको सङ्ख्यामा सुधार भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या २३ रहेकामा बितेको आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या १२ रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै सवारी दुर्घटनामा परी घाइते हुने व्यक्तिको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा परी २३ जना घाइते भएकामा गत आर्थिक वर्षमा १५ जना व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटना परी मुद्दा दर्ता हुनेको सङ्ख्यामा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वटा मुद्दा दर्ता भएकामा बितेको आर्थिक वर्षमा ११ वटा मुद्दा दर्ता भएका थिए ।
एक वर्षको अवधिमा ट्राफिक व्यवस्थापनमा पनि सुधार आएको प्रहरी प्रमुख डिएसपी विष्टले जानकारी दिनुभयो । सोही अवधिमा जिल्ला सदरमुकाम खलङ्गा बजार, बागबजार, त्रिवेणी चोक, सहिद गेट लगायतका बजार क्षेत्रमा समेत ट्राफिक व्यवस्थापनमा सुधार भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।