Kakhara सबैको खबर सम्पूर्ण खबर
आमा तथा नव शिशुकाे स्वास्थ्यमा महत्त्वपूर्ण योगदान गरेको भन्दै वान हर्ट र रुकुमेली समाजको प्रशंसा 

रुकुम पश्चिममा सञ्चालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा नव शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । वान हर्ट वर्ल्ड वाइडको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित परियोजनाको त्रिवेणी गाउँपालिकामा सामाजिक लेखा परीक्षण भएको हो । 

मङ्गलवार गाउँपालिकाको सभा हल खारनेटामा भएको सामाजिक लेखा परीक्षणमा परियोजनाले जिल्लामा सञ्चालन गरेका गतिविधि, तीनको प्रगति लगायतका बारेमा जानकारी गराइएको थियो । आमा र नव शिशुको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर यो परियोजना रुकुम पश्चिममा सन् २०२२ देखि सञ्चालनमा आएको हो । 

हाल जिल्लाका सबै पालिकामा यो परियोजना सञ्चालनमा छ । नेपालका ग्रामीण क्षेत्रका आमा र नवजात शिशुको जीवन र स्वास्थ्य बचाउने ध्येयका साथ सञ्चालित परियोजनाले आमा र नवजात शिशुहरूको लागि गुणस्तरीय हेरचाहमा समान पहुँच प्रदान गर्ने स्थानीय रूपमा नेतृत्व गरिएको स्वास्थ्य प्रणाली विकासको लक्षका साथ काम गरिरहेको परियोजनाका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियोजनाले प्रसूति केन्द्रको निर्माण, मर्मत सम्भार, स्वास्थ्य चौकीहरूको स्तरोन्नतिका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि तथा समुदाय स्तरमा स्वास्थ्य प्रणालीसँग तालमेलका लागि काम गरेको छ । 

परियोजनाको सक्रिय रूपमा काम गर्ने अवधि यही महिना देखि सकिँदै छ भने परियोजना भने सन् २०२६ को डिसेम्बरसम्म जिल्लामा रहने बताइएको छ । कार्यक्रममा परियोजनाले सञ्चालन गरेका गतिविधि र प्रगति सहितको प्रस्तुतीकरण परियोजनाका कार्यक्रम संयोजक मदन खड्काले गर्नुभएको थियो । 

त्यस्तै परियोजनाको प्रगति र प्रभाव सम्बन्धीको भिडिओ सामग्री समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

यसैबिच जिल्लास्थित सरोकारवालाहरूले आमा तथा नव शिशुको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै वान हर्ट वर्ल्ड वाइड र रुकुमेली समाज विकास केन्द्रको प्रशंसा गरेका थिए । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले यस परियोजनाले जिल्लाका आमा र नव शिशुलाई जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो । 

धेरै परियोजना कार्यक्रम सकिएपछि अलपत्र पर्ने अवस्था रहेकामा यो परियोजनाले भने स्थानीय तहसँग मिलेर काम गरेकोले त्यस्तो अवस्था नरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । वान हर्ट र रुकुमेली समाज विकास केन्द्रले प्रसूति भवन निर्माण, मर्मतका साथै सामग्री, औषधिको व्यवस्थापन तथा क्षमता विकास तालिम सञ्चालन गरेर निकै उदाहरणीय काम गरेको उहाँको भनाई थियो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले परियोजनासँग सहकार्य गरेर प्रसूति भवन निर्माण देखि अन्य काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । तीन वर्षको अवधिमा बिना कुनै मनमुटाब, बिना कुनै असमझदारी सौहार्दपूर्ण रूपमा सहकार्य अघि बढेको भन्दै आगामी दिनमा पनि सहकार्य गर्न इच्छुक रहेको उहाँले बताउनुभयो । साथै उहाँले निर्माण भएका संरचना तथा प्राप्त उपकरणको सदुपयोगमा जोड दिने बताउनुभयो । 

जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर विशाल अधिकारी र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भिमराज ओलीले पनि परियोजनाले जिल्लामा महत्त्वपूर्ण कामहरू गरेको भन्दै खुसी व्यक्ति गर्नुभयो भने परियोजनाको प्रशंसा गर्नुभयो । 

वान हर्ट र रुकुमेली समाज विकास केन्द्रले जसरी हालसम्म जिल्लामा आमा र नव शिशुको पक्षमा काम गरे त्यसरी नै आगामी दिनमा पनि काम हुनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो । 

कार्यक्रममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, ७ नम्बर वडाध्यक्ष धनबहादुर खड्का, जिल्ला प्रशासन कार्यालयका विरेन्द्र विष्ट, स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुन सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी व्यवस्थापन समिति, सेवाग्राही सहित जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू लगायतको पनि उपस्थिति रहेको थियो । 

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत नरेन्द्र ओलीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार मनिष खड्काले गर्नुभएको थियो । 

यसैबिच परियोजना अन्तर्गत त्रिवेणी गाउँपालिका ७ को मुरु स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति भवनको सरोकारवालाको टोलीले अनुगमन समेत गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update