
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ मुरुमा रहेको मुरु स्वास्थ्य चौकीको अनुगमन गरिएको छ । जिल्ला तथा पालिकाको टोलीले प्रसूति भवनसँगै स्वास्थ्य चौकी भवनबाट हुने सेवा प्रवाहको विषयमा अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, स्वास्थ्य सेवा कार्यालयको टोली, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, पत्रकार लगायतको टोलीले स्वास्थ्य चौकी सँगै त्यहाँको सेवा प्रवाहको विषयमा अनुमगन गरिएको हो ।
त्रिवेणी गाउँपालिका र वान हर्ट वल्र्ड वाइडको साझेदार संस्था रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजनाको साझेदारीमा प्रसूति भवन निर्माण भएको थियो । आज सोही भवनबाट भइरहेको सेवा प्रवाह सम्बन्धी अनुगमन गरिएको हो । अनुगमनका क्रममा स्वास्थ्य चौकीबाट विरामीले राम्रो सेवा पाएको, नजिको वडा समेतबाट सेवा ग्राहीसेवा लिन आउने गरेको पाएको छ ।
मुरु स्वास्थ्य चौकी भवन त्रिवेणी गाउँपालिकाको २० लाख र वान हर्ट वल्डवाइटको १८ लाख ५८ हजार ९६ रुपैयाँ गरेर कुल ३८ लाख ५८ हजार ९६ रुपैयाँमा भवन निर्माण सम्पन्न भई सेवा प्रवाह भइरहेको वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । यस अघी मुरु स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको बताएको छ । मुरु स्वास्थ्य चौकीबाट वितेको आर्थिक वर्षमा ६० भन्दा बढी महिला सुत्केरी भएका छन् । वान हर्ट वल्र्ड वाइडको जिल्लामा काम गर्ने परियोजना यही महिनादेखि सकिदै छ भने परियोजनाले गरेका कामको गतिविधि रेखदेख गर्ने समय भने सन् २०२६ को डिसेम्बरसम्म जिल्लामा रहने छ । अनुगमनमा जिल्ला समन्वय उपप्रमुख विक, गाउँपालिका अध्यक्ष केसी, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, ७ नम्बर वडा अध्यक्ष धनबहादु खड्का, जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर विशाल अधिकारी, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भिमराज ओली, रुकमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयाल, कार्यकारी निर्देशक नरेन्द्र ओली, जिल्ला प्रशासन कार्यालयमा कार्यरत विरेन्द्र विष्ट, स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्का, स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी व्यवस्थापन समिति लगायतको उपस्थित रहेको थियो ।