
रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका १४ स्थित ठुली भेरी नदीमा टिप्पर खसेको छ । भेरी करिडाेर अन्तर्गत आठबिसकाेट १४ को पिपलचाैर स्थित सडकबाट यति बिल्डर्सको रा.१ क. १५०१ नम्बरको टिप्पर ठुली भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
टिप्परमा चालक सहित तीन जना सवार रहेको बुझिएको र तीनै जनाको अवस्था अज्ञात रहेको उहाँको भनाई छ । उनीहरूको पहिचान खुलिनसकेकाे उहाँले बताउनुभयो ।
उहाँका अनुसार उक्त टिप्पर आठबिसकाेट ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारे तर्फ आउँदै गरेको थियो । टिप्पर भेरी नदीमा डुबेको र थोरै भाग मात्र देखिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । घटनाको जानकारी भए लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकाेट राडीबाट प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा ७ जनाको टोली खटिएको छ ।
साथै इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीको कमान्डमा ५ जनाको टोली खटिएको छ ।