
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ सेवाबाङमा जङ्गली च्याउ खादा एकै घरका दिदी भाइको मृत्यु भएको छ । त्यस्तै उक्त घरकै आमा र छोरी पनि बिरामी परेका छन् । मृत्यु हुनेमा ३५ बर्सिया रामकुमारी सुनारका ३ वर्षीय छोरा योजन बिक र ६ बर्सिया छोरी भाग्य रेखा बिक रहेका छन् ।
उनीहरू मध्ये योजनको उपचारका लागि लैजाँदै गर्दा सल्यानको श्रीनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । भाग्य रेखाको भने राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । च्याउ खाँदा आमा रामकुमारी सहित ९ बर्सिया छोरी आयुषा बिक बिरामी परेका छन् । बिरामी मध्ये आयुषालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको बताइएको छ ।
उनीहरू जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरूलाई बिरामी परेको तीन दिनपछि साउन ५ गते जिल्ला अस्पताल रुकुमकोट ल्याइएको थियो । उपचार सम्भव नभएपछि अस्पतालले उनीहरूलाई रिफर गरेको थियो ।