
मध्यपहाडी लोक मार्गलाई बायाँ पारेको चाइनाबगर उहिलेको चिहान (च्यानबगर) बगरजस्तो छैन । बाह्रमास हरियो हुने चाइनाबगर यसको दायाँ पट्टी अनवरत बग्ने ठुली भेरीको एकसुरको सुसाइले ससिलो छ । रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १ मा पर्ने समथर फाँट हो चाइनाबगर । ठुली भेरी र सानी भेरी नदीको सङ्गम स्थल रिम्ना दोभान र पूर्तिमकाँडाकै पक्रैयाबीचको भू–भाग चाइनाबगरको अँगालोमा छ । तत्कालीन पूर्तिमकाँडा गाविसको तत्कालीन समाधि स्थल हाल पूर्तिमकाँडाको साथै पूर्तिमकाँडाका छिमेकी सिम्ली, कोटजहारी, विजयश्वरी र छिमेकी जिल्ला जाजरकोट, डोल्पाको व्यापारिक सङ्गम स्थल पनि हो । उहीलेको चिहानबगर हाल धेरैको सपनाको सहरमा परिवर्तन हुँदै गएको छ । सक्ने जतिले चाइनाबगरमा घर ठड्याएका छन् भने त्यति गर्न नभ्याउनेहरुले घडेरी सम्म मात्रै भए पनि जोडेका छन् ।
चाइनाबगर नपत्याउँदो तरिकाले शहर उन्मुख भइरहेको छ । सडकको ट्रयाक खोलिएसँगै धेरैको आँखा चाइनाबगरमा लागेको थियो । झन्डै सय वर्ष अघिसम्म मानव चिहान मात्रै अटाउन सक्ने चाइनबगरले पछिल्लो समय मानव चिहान बाहेकका सबै चीज अटाउन सक्ने ल्याकत बनाई सकेको छ । उतीबेला नदीको छेउमै रहेको खाली ठाउँलाई स्थानीयले चिहानघाटको रूपमा मात्रै सीमित बनाएका थिए । जनसङ्ख्याको बढ्दो चापले चिहानबगरलाई क्रमशः विस्थापित गर्यो । सानै भए पनि मानव वस्ति बसाली चिहानबगर विस्थापित गर्ने काम भएको हुन सक्ने स्थानीय बताउँछन् । स्थानीय धनबहादुर विकका अनुसार चाइनाबगरको केही भाग अहिले पनि ऐलानी छ । चाइनाबगरको पश्चिमतिरको केही ऐलानी जग्गा स्थानीयले भोक चलन गर्दै आएका छन् ।
चिहानबगरबाट चाइनाबगर
मानव वस्ति बढ्दै गए पनि चाइनाबगरको पहिचान लामो समय चिहानबगरबाटै भयो । वस्ति बढ्दै गयो, खेतीपातीको उत्पादनले पनि ठाउँ ओगट्न थाल्यो, घर, गोठ बाक्लिए, मानिसको चहल पहल घना बन्दै गयो । त्यसपछि मात्रै चिहानबगरको न्वारान भयो । मानव चिहानसँग औपचारिक सम्बन्ध तोडिसकेको यस ठाउँले लामो समयसम्म चिहानबगरको नाउँबाट भने छुटकारा पाउन सकेको थिएन । लामो समयसम्म मानव चिहानसँग जबरजस्त सङ्गत गरेपछि पूर्तिमकाँडावासीले यसलाई त्यसबाट अलग्याए र नयाँ नामकरण गरे ‘चाइनाबगर’ । मानव चिहान राख्न छाडेको वर्षौँ भइसक्दासम्म पनि चिहानबगरकै नामबाट पुकारदा त्यसको सन्देश राम्रो नजाने भन्दै चिहानबगरबाट चाइनाबगर बनाइएको स्थानीय डिल्ली विकले बताउनुभयो । तत्कालीन पूर्तिमकाँडा गाविसका केही सक्रिय युवाहरूको पहलमा चिहानबगर हटाएर चाइनाबगर नामकरण गरिएको थियो ।
चिहानबगरबाट चाइनाबगर बनाइसकेपछि त्यसलाई स्थापित गर्न उनै युवाहरूले विभिन्न तौरतरिका अपनाएका रहेछन् । त्यस ठाउँमा राखिएका तथा त्यसपछि राखिने कुनै पनि व्यवसायको बोर्डमा चिहान नभै चाइनाबगर लेख्न लगाउने, आम सञ्चारका माध्यमहरूमा पनि चाइनाबगर भनेर पढ्न तथा लेख्न लगाउने जस्ता काम गरिएको रहेछ । सुरु सुरुमा चाइनाबगर भनेर स्थापित गर्न विभिन्न तरिका अपनाइएको धनबहादुर विकले जानकारी दिनुभयाे । चाइनाबगर स्थापित बनाउन सकेकोमा सर्वसाधारण खुसी छन् । सबैको प्रयास र सहयोगबाट चिहानबगरबाट चाइनाबगर बनाउन सकिएको विकले बताउनुभयो । चाइनाबगर भएर हिँड्ने यात्रुले चाइनाबगर देखेर चीनतिरको सम्झना पनि गर्दा रहेछन् ।
चाइनाबगरको योगदान
रुकुम पश्चिम, जाजरकोट र डोल्पाको झन्डै दर्जन बजारमा चाइनाबगरको ठुलो योगदान थियो । दाङ, नेपालगन्जबाट चौरजहारी हुँदै चाइबगरसम्म आइपुग्ने दैनिक उपभोग्य सामग्रीदेखि भौतिक निर्माणका सारा वस्तु चाइनाबगरको सहयोगमा सप्लाई हुने गर्दथ्यो । भेरी नदीमा पुल नबन्दा चाइनाबगरबाट मात्रै भेरी पारी लैजान सम्भव थियो । तर अहिले रिम्नामा पुल बनेपछि डोल्पाको यात्रा सहज हुँदै गएको छ । सडक नजाेडिदा सम्म चाइनाबगर टु डोल्पाको एउटा मात्रै ढुवानीको साधन खच्चड थिए ।
खच्चडको सहायताले चाइनाबगरले डोल्पाको दुनैसम्म सारा चिज पुर्यायो । खानेदेखि ओढ्ने ओछ्याउनेसम्म, नुनदेखि सुनसम्म जनतादेखि नेतासम्म, श्रेणीविहीन कर्मचारीदेखि अधिकृतसम्मकालाई चाइनाबगरले धान्यो । चाइनाबगर पुगेका सारा वस्तुको सुरक्षा गर्दै सहज रूपमा दर्जन बजारमा सवथोक पुर्याउनु जबरजस्त चाइनाबगरको दायित्व थियो । चाइनाबगरभन्दा उत्तरका ठाउँमा यातायातका साधन नगुडुन्जेल चाइनाबर कहिल्यै सुतेन, न समयमै खान पायो । चाइनाबगरकै आडबाट अहिले जाजरकोट हुँदै डाेल्पासम्म गाडी पुगेको छ ।
चाइनाबगरले जाजरकोटका रिम्ना, चौखा, तल्लु, डोल्पाका खदाङ, फूलवारी, टिमुरकोट, मिन्सि, रुपगार, कालागौंडा हुँदै सदरमुकाम दुनै र रुकुमका चीसापानी, राडी,मुलातरा, मनकाबगर, त्रिवेणी करपगार बजारको हरेक आश्यक्ता पूरा गर्यो । जाजरकोट खलंगाको सिधा सम्पर्क जाजरकोट खलंगाकै रिम्नासम्म भएपछि यी बजारले चाइनाबगरलाई बिर्सन प्रयास गरिरहेका छन् ।
खेतीपातीको उर्वर भूमि चाइनाबगर
हाल चाइनाबगरको धेरै जमिन खेतीले ओगटेको छ । चाइनाबगरका हरेक खेत वा पाखोमा तीन वाली उत्पादन हुन्छ । यसका साथै चाइनाबगरले त्यस आसपासका सर्वसाधारणलाई ताजा तरकारी खुवाउन सफल भएको छ । छिमेकी बजार जाजरकोटको रिम्ना, चौरजहारी, सिम्ली लगायतका ठाउँमा बेमौसमी तरकारी सहज परिपूर्ति पनि चाइनाबगरले गरिरहेको छ ।
चाइनाबगरको गुण यतिमा मात्र सकिन्न हरेक जेठ महिनापछि चाइनाबगर भएर हिँड्ने जोकोहीलाई मकै खुवाउने पनि चाइनाबगर नै हो । हिउँदको गहुँ भित्र्याएपछि लगाइएको मकैको न्वागी चाइनाबगर हुँदै हिँड्ने जो कोहीले चाख्न पाउँछन् । अन्यत्र मकै नलगाउँदै मकै चखाउने जिम्मेवारी पनि चाइनाबरले नै लिएको छ । चाइनाबगरमा खेत वा पाखो भएको कसैले तरकारी किन्नु पर्दैन रे ! जाँगर भएपछि के को तरकारीको समस्या भन्दै उल्टो प्रश्न गर्ने धेरै भेटिए चाइनाबगरमा ।
चाइनाबगरको दुःख
समस्या नहुने क्षेत्रै छैन भन्दा हुन्छ । चाइनाबगर पनि यसबाट अछुतो छैन । विशेष गरी यहाँका सर्वसाधारणको ठुलो चिन्ता नदी कटानको हो । सानी भेरी र ठुली भेरी मिसिएपछि चाइनाबगर सुरु हुन्छ । यदि यी दिदी बहिनीको कटानबाट समस्यामा परिन्छ कि भन्ने चिन्तामा चाइनाबगरवासी छन् । चाइनाबगरको छेउछेउमै बगेको नदीले चाहेको खण्डमा चाइनाबगर कटान गर्न समस्या छैन । समथर भूभागमा पसेर भए भरको सम्पत्ति क्षति गर्नलाई भेरीलाई कुनै भारी छैन । स–सानो उपायले चाइनाबगर संरक्षण हुन सक्ने अवस्था देखिँदैन त्यसैले पनि यहाँका अधिकांशको मुटु भेरी नदीले ठोकी रहेको यसै महसुस गर्न सकिन्छ । नदी कटान राेक्न तटबन्ध लगायतकाे प्रयास भने भएकाे छ ।