Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वको तकसेरामा आयोजित राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई, एपिएफ उपविजेता
विजेता नेपाल पुलिस क्लबका खेलाडी । फाेटाे: नमस्ते सुर्खेतकाे फेसबुकबाट ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ तकसेरा सेरा बालुवामा आयोजित राष्ट्रिय आमन्त्रित पुरुष भलिबल २०८२ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिवार भएको फाइनलमा अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेट पनि २५–१५ को सहज अङ्कले आफ्नो पक्षमा पारेका थियो । तेस्रो सेट भने प्रतिस्पर्धात्मक बनेकामा २७–२५ ले पुलिसले आफ्नो पक्षमा पार्दै उपाधिमा कब्जा जमाएको हो ।

त्यस्तै प्रतियोगितामा गण्डकी तेस्रो भयो । मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो । विजेता नेपाल पुलिस क्लबले नगद ५ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एपिएफले नगद ३ लाख, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । तेस्रो भएको गण्डकीले २ लाख नगद तथा सान्त्वना भएको मणिमुकुन्दले १ लाख नगद पुरस्कार पाएको आयोजक श्री हिमालय शृङ्खला चौँरी युवा क्लब पुथाउत्तरगंगा ११ सेरा बालुवाले जानकारी दिएको छ ।

नेपाल पुलिसका रेसम छन्त्याल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले १० हजार नगद पुरस्कार पाए । उत्कृष्ट सर्भर एपिएफका सरोज बर्देवा, उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ, उत्कृष्ट स्पाइकर एपिएफका सुरेन्द्र केसी, उत्कृष्ट लिब्रो पुलिसका भिम गाहा, उत्कृष्ट ब्लकर गण्डकीका सुगम सुनार र उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुँवर बनेका छन् । उनीहरूले समान ५ हजार नगद पुरस्कार पाएका छन् । 

महिला तर्फ भने टिम नर्सिङ विजेता बनेको छ । रुकुम भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै नर्सिङ विजेता बनेको हो । महिला तर्फ पनि राष्ट्रिय स्तरका खेलाडी सलिना बुढा मगर, मिना सुनार लगायतका खेलाडी सहभागी थिए । महिला तर्फको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेका छन् । हिमालय शृङ्खला चौँरी युवा क्लबको ३० औँ ऐतिहासिक वार्षिकोत्सव तथा राँके सेरा बालुवा मेलाको अवसरमा राष्ट्रिय स्तरको भलिबल सहित विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको हो ।
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update