
बितेको आर्थिक वर्ष २०८१/०८२ मा रुकुम पश्चिमका दूध उत्पादक किसानले दूधमा १७ लाख प्रोत्साहन प्राप्त गरेका छन् । एक वर्षमा बिक्री गरेको दूधको आधारमा किसान तथा फर्महरूले प्रोत्साहन प्राप्त गरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार प्रति लिटर ५ रुपैयाँका दरले दूध उत्पादक किसान तथा फर्मलाई अनुदान प्रदान गरिएको छ । जिल्लामा ३ सय ७८ जना किसान तथा फर्मले दूध उत्पादनका आधारमा प्रोत्साहन प्राप्त गरेको कार्यालय प्रमुख डाक्टर अभिनभ जिसीले जानकारी दिनुभयो ।
करिब ३ लाख ४० हजार लिटर दूध बिक्री गरे बापत किसानहरूले १७ लाख प्रोत्साहन पाएको उहाँले बताउनुभयो । दूधमा प्रोत्साहनका लागि बितेको वर्षका लागि ३० लाख बजेट कर्णाली प्रदेशबाट आएकामा १९ लाख खर्च भएको कार्यालय प्रमुख डाक्टर जिसीले बताउनुभयो । यसमध्ये १७ लाख किसानको हातमा परेको र बाँकी रकम कन्टेन्जेन्सीका रूपमा काटिएको उहाँले जानकारी गराउनुभयो । जिल्लामा सबैभन्दा बढी प्रोत्साहन पाउने दूध उत्पादक फर्महरूले ५० देखि ६० हजारसम्म पाएको बताइएको छ ।
त्यस्तै यो वर्ष भने पैसा नपुग्ने समस्या नभएको कार्यालयको भनाई छ । अघिल्लो वर्ष धेरै किसानले अनुदान पाउन नसकेकोमा बितेको आर्थिक वर्षमा भने कडा कार्यविधिका कारण बजेट अपुग हुने समस्या नभएको प्रमुख डाक्टर जिसीले बताउनुभयो । उहाँका अनुसार किसानले सूचीकृत दुग्ध पसलमा दूध बिक्री गरेको भौचर अनिवार्य भएपछि प्रोत्साहन वितरण प्रभावकारी र सहज बनेको हो । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर रहेको र जिल्लामा उत्पादित दूध जिल्ला बाहिर समेत जाने गरेको उहाँको भनाई छ ।
जिल्लामा वितरित प्रोत्साहन रकमलाई हेर्ने हो भने पनि जिल्लामा दूध उत्पादन कस्तो छ भनेर थाहा पाउन सकिने उहाँले बताउनुभयो । किसानले दूधमा प्रोत्साहन प्राप्त गर्दा खुसी व्यक्त गर्नुका साथै दूध उत्पादनमा समेत टेवा पुगेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमका लागि दूधमा प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहनको व्यवस्था गरेको छ । सो अनुसार जिल्लाका किसानले प्रत्येक वर्ष बिक्रीका आधारमा प्रोत्साहन प्राप्त गर्दै आइरहेका छन् ।
यसैबिच बितेको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष वर्ष २०८२/०८३ मा जिल्लाका लागि प्रोत्साहन रकम आधाले घटेको छ । बितेको वर्ष दूधमा प्रोत्साहन लागि ३० लाख पठाएको प्रदेश सरकारले चालु आर्थिक का लागि भने १५ लाखको मात्र व्यवस्था गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।