Kakhara सबैको खबर सम्पूर्ण खबर
गाडीकाे ठक्करबाट रुकुम पश्चिमका ओपेन्द्रकाे अमेरिकामा मृत्यु

अमेरिकामा गाडीको ठक्करबाट एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपाने घर भई हाल अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा रहेका अन्दाजी २० वर्षीय ओपेन्द्र बोहराको मृत्यु भएको हो । 

अस्टिनको सेभेन इलाभेनमा कार्यरत बोहरा नाइट ड्युटी सकाएर अमेरिकाको शुक्रवार बिहान र नेपाली समय अनुसार शुक्रवार बेलुकी पैदल कोठा फर्किने क्रममा गाडीले ठक्कर दिएको थियो । लगत्तै उपचारका लागि प्रहरीले अस्पताल पुर्‍याएकामा नेपाली समय अनुसार आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

बोहरालाई ठक्कर दिने गाडीको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको बोहराका आफन्तले बताएका छन् । बोहरा ८, ९ महिना अघि मात्र अमेरिका जानुभएको थियो । उहाँकाे एक साता अघि मात्र ग्रिन कार्ड एप्रुभ समेत भएकाे बताइएको छ ।

केही दिन अघि टेक्सासकै ह्युस्टन सिटीमा रूकुम पूर्वकाे रुकुमकोटका २३ वर्षीय शुशिल केसीको पनि मृत्यु भएको थियो । उहाँको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update