Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा हेरिटेज रन (मिनी म्याराथन) हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मुसिकोट हेरिटेज रन २०८२ आयोजना हुने भएको छ । मुसिकोटका प्रमुख पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको परिचय र प्रवर्द्धनका लागि भाद्र १२ गते (बारभदौ मेलाको दिन) लामो दौड प्रतियोगिता अर्थात् मुसिकोट हेरिटेज रन, मिनी म्याराथन हुने भएको हो । 

राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाको आयोजनामा डिग्रे साइकुमारी मन्दिर परिसर, काम्ले, कानेबाङ, साँखदह, बयरीदह, ठुलदह, स्यानदह, खारादह, पोखरा, सातदुले जुम्लेपोखरी, डँयरीचौर, प्रेमताल, पाथीहाल्ने, जन्ती ओलप्पेको लेक, घिमाने हुँदै डिग्रे साइकुमारी मन्दिर परिसर सम्मको रुटमा मिनी म्याराथन सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १५ हजार तोकिएको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य पूर्ण ओलीले जानकारी दिनुभयो । यसको दुरी ३० देखि ३४ किलोमिटरसम्म हुने उहाँको भनाई छ । प्रतियोगितामा सहभागिताका लागि राप्ती साहित्य परिषद्को कार्यालय मुसिकोट खलङ्गामा भाद्र ५ गतेभित्र नाम दर्ता गर्न सकिने उहाँले बताउनुभयो । 

मिनी म्याराथनमा आयोजक संस्था, प्रायोजकहरू र १८ वर्षमाथिका जिल्लाबाहिर वा भित्रका सबै व्यक्तिहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् भने दर्ता शुल्क ५ सय तोकिएको छ । धावकले प्रतियोगिता हुने दिनभन्दा अगाडि नै शारीरिक रूपमा तन्दुरुस्त भएको मेडिकल रिपोर्ट वा स्वघोषणापत्र पेस समेत गर्नुपर्ने छ । 

त्यस्तै भिजिटिङ प्वाइन्ट, हाइड्रेसन स्टेसन र मेडिकल सहायता सम्बन्धमा वार्मअप वा ब्रिफिङको समयमा जानकारी गराइने, वार्मअप वा ब्रिफिङमा उपस्थित हुन नसक्ने भएमा प्रतियोगिताको दिन अगावै फोन मार्फत जानकारी लिनुपर्ने, भाद्र १२ गते बिहीबार बिहान ठिक ८ बजे डिग्रे साइकुमारी मन्दिर परिसरबाट म्याराथन दौड प्रारम्भ भई सोही स्थानमा समापन हुने आयोजकले जनाएको छ ।

शर्तहरूः 
- आयोजक संस्था, प्रायोजकहरू र १८ वर्षमाथिका जिल्लाबाहिर वा भित्रका सबै व्यक्तिहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । 
- दौड प्रतियोगितामा भाग लिन चाहनेले रु. ५००/- दर्ता शुल्क बुझाएर आफ्नो नाम अग्रिम दर्ता गर्नुपर्नेछ ।
- प्रतियोगिता हुने दिनभन्दा अगाडि नै शारीरिक रूपमा तन्दुरुस्त भएको मेडिकल रिपोर्ट वा स्वघोषणापत्र पेश गर्नुपर्नेछ ।
- दौडको लागि थप नियमहरू, भिजिटिङ प्वाइन्ट, हाइड्रेसन स्टेशन र मेडिकल सहायता सम्बन्धमा वार्मअप वा ब्रिफिङको समयमा जानकारी गराइनेछ । वार्मअप वा ब्रिफिङमा उपस्थित हुन नसक्ने भएमा प्रतियोगिताको दिन अगावै फोनमार्फत जानकारी लिनुपर्नेछ ।
- २०८२ भाद्र १२ गते बिहीबारको दिन बिहान ठिक ८.०० बजे डिग्रे साईकुमारी मन्दिर परिसरबाट म्याराथन दौड प्रारम्भ भई सोही स्थानमा समापन हुनेछ । दौड प्रारम्भ हुनुभन्दा १ घण्टा अगावै धावकहरू डिग्रे मन्दिर परिसरमा उपस्थित भइसक्नुपर्नेछ ।
- प्रत्येक धावकलाई बिब नम्बर अङ्कित टिसर्ट उपलब्ध गराइनेछ । दौडँदा आवश्यक पर्ने पानीलगायत आरामदायक जुत्ता, हलुका पोशाक र अन्य कुराहरू धावकले आफै व्यवस्था गर्नुपर्नेछ । धावकलाई पोस्ट रेसको सुविधा आयोजकले नै उपलब्ध गराउनेछ ।
- धावकलाई हेडफोन तथा एरफोन निषेध गरिएको छ । आफ्नो मोबाइल भने साथमा लग्नुपर्नेछ ।
- उल्लिखित रनिङ रुट, पुरस्कार राशि तथा शर्तहरू संशोधन गर्न अपरिहार्य भएमा परिवर्तन हुन सक्नेछ । तर दौड प्रतियोगिताको मिति, समय र प्रारम्भ स्थान सामान्यतया परिवर्तन हुनेछैन ।
- दौडमा प्रथम द्वितीय र तृतीय हुने बिजेताहरूलाई सोही दिन उल्लिखित राशिको नगद पुरस्कार र प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रायोजकहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

सम्पर्क व्यक्तिहरूः
मनलाल ओलीः ९८६६८२७७४८
पूर्ण ओलीः ९८६७३९९५३९
ओमबहादुर खत्रीः ९८६१२०५११२
एक्कबहादुर केसीः ९८४३२४५७७१

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update