
रुकुम पश्चिममा एक वर्षमा साढे ९ हजारले आँखा तथा कान सम्बन्धी उपचार सेवा लिएका छन् । बितेको आर्थिक वर्ष २०८१÷०८२ मा रुकुम आँखा सर्किजल सेन्टर सल्लेबाट ९ हजार ४ सय ९५ जनाले आँखा तथा कान सम्बन्धी सेवा लिएका हुन् ।
जिल्लामा आँखा तथा कान सम्बन्धी सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा रहेको रुकुम आँखा सर्किजल सेन्टर सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा रुकुम आँखा सर्किजल सेन्टरबाट ६ हजार ५ सय ५१ जनाले सेवा लिएका थिए ।
त्यो सङ्ख्या बढेर बितेको वर्ष ९ हजार ४ सय ९५ पुगेको प्रमुख केसीले बताउनुभयो । जसमा आँखाको सेवा लिनेको सङ्ख्या ७ हजार ९ सय २४ रहेको छ भने कान सम्बन्धी सेवा लिनेको सङ्ख्या १ हजार ५ सय ७१ रहेको छ ।
जसमध्ये ३ हजार ४ सय ५८ जनाले चस्माको जाँच, १ हजार ९ जनाले चस्मा लाउनुपर्ने, २ सय ५९ जनाले कम्प्युटर प्रविधिबाट मोतीबिन्दुको अप्रेसन, २ सय ५४ जनाले ल्याब सेवा लिएका छन् भने ४८ जनाले सामान्य शल्यक्रिया सेवा लिएको केसीले जानकारी गराउनुभयो ।
त्यस्तै २ हजार १ सय ९ जनाले अत्याधुनिक प्रविधिबाट आँखाको प्रेसर जाँच सेवा लिएकामा १ हजार ७ सय ६२ जनाको आँखाको जाँच समुदायमै गएर गरिएको उहाँको भनाई छ । जिल्लाका ११ वटा विद्यालयका ४ हजार ९ सय ५४ जना विद्यार्थीको विद्यालयमै गएर आँखा जाँच गरेर ५ सय ६१ जनालाई चस्मा समेत वितरण गरिएको प्रमुख केसीले जानकारी दिनुभयो ।
सुरुमा आँखा उपचार केन्द्रका रूपमा सञ्चालनमा आएकामा दुई वर्ष देखि भने रुकुम आँखा सर्किजल सेन्टरका रूपमा रूपान्तरण भएर सेवा दिँदै आएको छ । स्थापना भएदेखि हालसम्म करिब ७० हजारले सेवा लिएको बताइएको छ ।
जिल्लामा सबैभन्दा बढी मोतीबिन्दुको समस्या भएका बिरामीको अप्रेसन हुने गरेको छ । कम्प्युटर विधिबाट समेत अप्रेसन सेवा सुरु भएपछि भने कम जोखिम तथा कम झन्झट हुने हुँदा यो विधिबाट अप्रेसन सेवा लिनेहरूको सङ्ख्या बढ्न थालेको आँखा सर्किजल सेन्टरले जनाएको छ । आँखा उपचार सेन्टर जिल्ला जिल्ला अस्पताल परिसरबाट सञ्चालनमा छ ।