
रुकुम पश्चिममा पहिलो पटक दाँतमा तार बाँधेर नमिलेका दाँत मिलाउने सेवा सुरु भएको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर १ को पुष्पलाल चोकमा रहेको प्रफेक्ट स्माइल डेन्टल क्लिनिकमा दाँतमा तार बाँध्ने सेवा सुचारु भएको हो ।
जिल्लामा पहिलो पटक कन्सल्टेन्ट अर्थो डेन्टिसद्वारा तार बाँध्ने तथा नमिलेका दाँतहरूको उपचार सेवा प्रदान गरिरहेको सञ्चालक डाक्टर हरिलाल केसीले जानकारी दिनुभयो । अब देखि नियमित रूपमा महिनामा एक पटक यो सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टर नवीन चौधरीले दाँत बाँध्ने र नमिलेका दाँत मिलाउने सेवा दिइरहेको क्लिनिक सञ्चालक डा. केसीले जानकारी गराउनुभयो । दाँत सम्बन्धीका अन्य सेवाहरू भने यसअघि नै सञ्चालनमा रहेकामा दाँत बाँध्ने सेवा भने जिल्लामा पहिलो पटक सञ्चालन गरिएको उहाँको भनाई छ ।
यो डाक्टर आफैले सञ्चालन गरेको जिल्लाको एक मात्र क्लिनिक भएको उहाँले बताउनुभयो । क्लिनिकबाट दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार आधुनिक मेसिन इन्डोमोटर, एपेक्स लोकेटरबाट गरिनुका साथै डिजिटल एक्स-रे सेवाको समेत सुविधा रहेको डा. केसीको भनाई छ ।