
रुकुम आँखा सर्जिकल सेन्टरको भवन निर्माणका लागि जग्गा खरिद गर्न झन्डै ६ लाख रुपैयाँ सङ्कलन भएको छ । सहयोग सङ्कलन अभियानबाट हालसम्म ५ लाख ७१ हजार ९ सय ४९ रुपैयाँ ८५ पैसा सङ्कलन भएको हो । आँखा उपचार केन्द्रले जग्गा खरिदको लागि केही महिना अघि सहयोगको आह्वान गरेको थियो । सोही अनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको रुकुम आँखा सर्जिकल सेन्टर सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त रकम देश तथा देश बाहिर बस्ने ३४ जना व्यक्तिबाट सङ्कलन भएको हो । भवन निर्माणको लागि मुसिकोट १ सल्लेमा ५ सय ९७ वर्ग मिटर जग्गा बैङ्कबाट ऋण लिएर खरिद भइसकेको छ । भवन निर्माणको लागि जग्गा मात्रै १७ लाख ३० हजार रुपैयाँमा खरिद गरेको र सर्जिकल सेन्टरको नाममा जग्गा रजिस्ट्रेसन गर्दा कुल १९ लाख रुपैयाँ लागेको छ ।
बाँकी रकमको लागि पनि सहयोगको आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । अझै १३ लाख २८ हजार ५४ रुपैयाँ आवश्यक रहेको छ । आँखा उपचार केन्द्रलाई यसअघि प्राप्त भएको जग्गा भिरालो र असजिलो भएका कारण जिल्ला अस्पताल नजिकै जग्गा खरिद गरिएको प्रमुख केसीले जानकारी दिनुभयो ।
भवन निर्माणको लागि भने सहरी विकास मन्त्रालयबाट २ करोड ८० लाख रुपैयाँ आएको छ । जसबाट साढे ३ तलाको भवन निर्माण हुनेछ । भवन निर्माण ठेक्का प्रक्रिया मार्फत हुने भएकाले यही साउन १९ गते टेन्डर आह्वान गरिने उहाँले जानकारी दिनुभयो । भवन निर्माण हेर्ने जिम्मा भने केन्द्रीय कार्यान्वयन इकाई भवन तथा आवास निर्माण जाजरकोटलाई छ ।
आँखा सर्जिकल सेन्टर हाल जिल्ला अस्पतालको साँघुरो ठाउँबाट सञ्चालनमा रहेको छ । भवन निर्माणपछि भने सेवा प्रवाहमा सहज हुने विश्वास छ ।