Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नागरिकता र राहदानी लिनको सङ्ख्या घट्यो 

रुकुम पश्चिममा नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको छ । बितेको आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कले जिल्लामा नयाँ नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको देखाएकाे हो । पछिल्ला २ वर्षको तुलना गर्दा जिल्लामा नागरिकता लिनेको सङ्ख्यामा १ सय ५४ ले कमी आएको छ भने राहदानी लिनेको सङ्ख्यामा ४ सय ६८ ले कमी आएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बितेको आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालयबाट ५ हजार ६ सय ४८ वटा नागरिकता जारी भएका थिए । जब कि त्यो भन्दा अघिल्लो वर्ष २०८०/०८१ मा ५ हजार ८ सय २ वटा नागरिकता जारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । नागरिकताको प्रतिलिपि निकाल्नेको सङ्ख्या भने उल्लेख्य मात्रामा बढेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ५ सय ३ वटा प्रतिलिपि जारी भएकामा बितेको आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ३ सय ३८ वटा प्रतिलिपि जारी भएको रेग्मीले बताउनुभयो । एक वर्षमा ८ सय ४५ वटा बढी प्रतिलिपि जारी भएका हुन् । त्यस्तै बितेको आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ८ सय ४५ वटा नयाँ राहदानी जारी भएका छन् ।

यद्यपि त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ३ सय ५८ वटा राहदानी जारी भएका थिए । राहदानी वितरणको अवस्थामा भने बितेको आर्थिक वर्षमा राम्रो देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार बितेको वर्ष २ हजार ८ सय ९० वटा राहदानी जारी भएकामा २ हजार ८ सय ४५ वटा वितरण भइसकेका छन् भने त्यो भन्दा अघिल्लो वर्ष ३ हजार ३ सय ५८ वटा राहदानी जारी भएकामा २ हजार ६ सय ३३ वटा मात्र वितरण भएका थिए ।

राहदानी र नागरिकता बनाउनेको सङ्ख्यामा कमी आउनुको मुख्य कारण बसाइसराई हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । जिल्लाबाट धेरै मान्छेहरू दाङ, नेपालगन्ज, काठमाडौँ लगायतका ठाउँमा बसाइसराइ गरेर जाने भएकोले नागरिकता र राहदानी लिनेको सङ्ख्यामा कमी आएको हुनसक्ने उहाँको भनाई छ । यस्तै राहदानी घट्नुमा अमेरिकाको आप्रवासन नीति तथा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी आउनु हुन सक्ने उहाँले बताउनुभयो ।

तर जिल्लामा राष्ट्रिय परिचय पत्र दर्ताकाे सङ्ख्या भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८२ मा ६ हजार ३ सय ४ वटा राष्ट्रिय परिचय पत्र दर्ता भएकामा १ हजार ९ सय ११ वटा वितरण भएका थिए । तर त्यो सङ्ख्या बढेर अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय परिचय पत्र दर्ता १२ हजार ८ सय ९७ पुगेको छ भने ६ हजार ५ सय ३४ वटा परिचय पत्र वितरण भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दर्ता भएको लामो समयपछि परिचय पत्र आउनु र राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिनुले सङ्ख्या बढेको तर ढिलो गरी परिचय पत्र आउने भएकोले राहदानी बनाएको व्यक्ति वैदेशिक रोजगारीमा जाने भएकोले परिचय पत्र लिनेको सङ्ख्या भने कम रहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मी बताउनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update