
सरकारले शून्य होम डेलिभरी अर्थात् घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने नीति लिए पनि रुकुम पश्चिममा भने अझै पनि होम डेलिभरी रोकिन सकेको छैन । बितेको आर्थिक वर्षमा २८ वटा प्रसूति घरमै भएका छन् ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार बर्सभरिमा २८ जना महिला घरमै सुत्केरी भएको तथ्याङ्क छ । यो सङ्ख्या गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने र घरमै सुत्केरी पश्चात् महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थामा जानकारी आएको सङ्ख्या मात्र हो ।
स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई जानकारी नभई घरमै सुत्केरी हुनेको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले विशेष गरी बर्थिङ सेन्टर नभएका वा टाढा भएका ठाउँमा धेरै होम डेलिभरी हुने गरेको बताउनुभयो ।
यस्तो सङ्ख्या बाँफिकोट गाउँपालिकामा धेरै रहेको उहाँको भनाई छ । उहाँका अनुसार गत एक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्ला भरीमा २८ जना महिला घरमै सुत्केरी भएकामा १९ जना बाँफिकोट गाउँपालिकाका मात्र रहेका छन् ।
त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकामा समेत होम डेलिभरी शून्यमा झर्न सकेको छैन । बितेको वर्ष मुसिकोटमा ६ जना बच्चा घरमै जन्मिएको सूचना अधिकारी ओलीले जानकारी गराउनुभयो ।
चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा एक एक जना महिला घरमै सुत्केरी भएका छन् । दुर्गम र सबै ठाउँमा स्वास्थ्य संस्थाको सहज पहुँच नभएको भनिएको आठबीसकोट नगरपालिकामा भने गत वर्ष घरमै सुत्केरी हुने महिला एक जना पनि नरहेको सूचना आएको ओलीले बताउनुभयो ।
बर्थिङ सेन्टर नै नभएका र टाढा भएका कारण स्वास्थ्य संस्थासम्म पुग्न समय लाग्ने भएकोले केही महिला बाटोमै समेत सुत्केरी हुने गरेको उहाँको भनाई छ । अझै पनि विभिन्न कारणले महिलाहरूलाई सुत्केरी गराउन अनिवार्य स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतना सबै नागरिकमा हुन नसकेको स्वास्थ्यकर्मीको भनाई छ ।
घरमा हुने प्रसूतिले आमा तथा नव शिशु दुवैको स्वास्थ्य जोखिममा हुने भएकोले नियमित गर्भ जाँच र प्रसूतिका लागि अनिवार्य स्वास्थ्य संस्थामै पुग्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ । जिल्लामा गत वर्ष कुल २ हजार ९ सय ३१ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
जसमा २ सय ६० महिलालाई अप्रेसन मार्फत सुत्केरी बनाइएको हो भने अन्यको सामान्य भएको हो । अप्रेसन जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा मात्र हुने गरेको छ । जिल्ला अस्पतालमा ९८ जनाको अप्रेसन भएकोमा चौरजहारी अस्पतालमा १ सय ६२ जना महिलालाई अप्रेसन गरेर सुत्केरी बनाइएको जिल्ला अस्पताल रुकुम पश्चिमको तथ्याङ्क छ ।