Kakhara सबैको खबर सम्पूर्ण खबर
गोली प्रहारबाट एक जनाको मृत्यु

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै   मृत्यु भएको प्रहरीले जनाएको छ । जगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ ।

यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update