
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकम पश्चिमका अध्यक्ष मनलाल ओलीकी धर्मपत्नी राधा ओलीको प्रथम स्मृति दिवसकाे अवसरमा शैक्षिक सामग्री वितरण गरिएकाे छ ।
स्वर्गीय राधा ओलीका पति लगायत छोरीहरू अनिता ओली र कविता ओली तथा छोरा जीवन ओलीले त्रिवेणी गाउँपालिका वडा नम्बर ५ स्थित नमुना आधारभूत विद्यालय तमाकछरेका सबै विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्नुभएकाे हाे ।
उक्त कार्यक्रममा सोही विद्यालयमा मनलाल ओलीले राधा ओलीको नाममा २५ हजारको अक्षय कोष स्थापना गरिएको र प्रत्येक वर्ष साउन २१ गते राधा स्मृति दिवसको सिलसिलामा जेहन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभयाे ।
सो कार्यक्रममा राधाले गरेको सामाजिक तथा पारिवारिक योगदानहरूको फेहरिस्त झल्काउने श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो ।
मनलाल ओली परिवारले स्व राधाको नामबाट मुसिकोट नगरपालिका वडा नम्बर ५ मा अवस्थित जग्गा पनि नि:शुल्क रूपमा राप्ती साहित्य परिषद्लाई जग्गा दान गर्नुभएकाे थियाे । उक्त जग्गामा राप्ती साहित्य परिषद्को आफ्नै भवन निर्माण सम्पन्न हुने क्रममा छ ।
स्मृति सभाको आयोजना नमुना आधारभूत विद्यालय तमाकछरेले गरेको थियो । सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिल्ली ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकार पूर्ण ओलीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा अतिथिहरु त्रिवेणी ५ का कार्यवाहक वडा अध्यक्ष विष्णु बिक, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष एक्कबहादुर केसी, स्थानीय जनप्रतिनिधि सिर्जना खडका, समाजसेवी पूर्णसिँह ओलीलगायतकाे आतिथ्यता रहेकाे थियाे । प्रधानाध्यापक कमानसिँह ओलीले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रमको संचालन शिक्षक तथा साहित्यकार बालाराम ओलीले गर्नुभएको थियो ।
कार्यक्रममा राधा ओलीको स्मृतिमा विभिन्न रचनाहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा आसपासका विद्यालयहरूका विद्यार्थीहरू, शिक्षकहरू, प्रधानाध्यापकहरू, वयोवृद्ध व्यक्तिहरू, स्थानीय आमा समूहहरू, महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो ।