
मध्यपश्चिम नापी पेसाकर्मी समाजको १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न विधामा ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो ।
ब्याडमिन्टनमा रुकुमेली नापी समाजले वर्चस्व कायम गरेको छ । नापी समाजका तर्फबाट सहभागी भएका खेलाडीले सिनियर र जुनियरमा प्रथम र तृतीय तथा भेट्रानमा द्वितीय स्थान हासिल गर्न सफल भएको समाजले जानकारी दिएको छ ।
समाजका अनुसार सिनियर तर्फ हरि केसी र नरेन्द्रप्रकाश ओलीको जोडी प्रथम, दीपक बुढाथोकी र रुद्र ओलीको जोडी तृतीय भएको छ । त्यस्तै जुनियर तर्फ नरेन्द्र घर्ती र चित्र ओलीको जोडी प्रथम हुँदा सञ्जित ओली र भुवन खड्काको जोडी तृतीय भएको छ भने भेट्रान तर्फ तारा ओली र खिम गिरीको जोडी द्वितीय भएको बताइएको छ ।
खेल सुर्खेत रङ्गशालामा साउन २२ गते देखि २४ गतेसम्म सञ्चालन भएको थियो । १६ औँ स्मृति दिवसको दिन साउन २४ गते नेपाल सर्भे एसोसिएसनका अध्यक्ष प्रकाश ओली र मध्यपश्चिम नापी समाजका अध्यक्ष लोक धमलाले विजयी खेलाडीहरूलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
रुकुमेली नापी समाजका तर्फबाट विजेता खेलाडीहरूले प्राप्त ट्रफि र नगद पुरस्कार संस्थाका अध्यक्ष गणेश खड्का मार्फत संस्थालाई हस्तान्तरण गरेका छन् । पुरस्कार ग्रहण गर्दै अध्यक्ष खड्काले खेलाडीहरूले निरन्तर संस्थाको नाम उँचो बनाउन भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि अब्बल नजिता प्राप्तिका लागि उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो ।