Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा शतप्रतिशत धान रोपाँइ

रुकुम पश्चिममा सत प्रतिशत धान रोपाइ सकिएको छ । जिल्लाका ६ वटै पालिका विभिन्न ठाउँमा उत्पादन हुने सवै ठाउँमा रोपाइ सकिएको हो । जेठ अन्तिम साताबाट सुरु भएको रोपाइ साउनको पहिलो सातसम्म चलेको थियो । जिल्लाको सवै पालिका चौरजहारी, मुसिकोट र आठविसकोट नगरपालिका तथा  सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा धान खेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यो वर्ष समयमै वर्षा तथा मौसमले साथ दिएका कारण समयमै धान रोपाइ सकिएको कृषि विकास कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा खुमल ४, ६, राधा ४ लगायत अन्य हाइव्रिट प्रजातिको धान रोप्ने गरिएको छ । यो वर्ष धान खेती हुने सवै खेतीयोग्य जग्गामा रोपाइ गरिएकाले अघिल्लो आर्थिक वर्षभन्दा बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ । सबै बाँझो जग्गामा धान खेती हुने हो भने खेतीयोग्य क्षेत्रफल सहित उत्पादनमा समेत वृद्धि आउने उहाँले भनाई छ ।

जिल्लामा धान खेती हुन सक्ने सबै क्षेत्रफलमा खेतीका लागि सिँचाइको सुविधा पुर्याउने लक्ष्य सहित कार्यालयले काम गरिरहेको जनाएको छ । त्यस्तै धान उत्पादनलाई बढाउन चैते धान खेतीमा समेत जोड दिइएको तर सोचे अनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले  जानकारी दिनुभयो । जिल्लामा गत वर्ष जिल्लामा १२ हजार ९ सय ५५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष समयमै वर्षात, धान खेतीमा किरा नदेखिएको गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ । उत्पादन भएको केहि धान चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर विक्री हुने गरेपनि धानमा जिल्ला आत्मनिर्भर नरहेको कृषि किकास कार्यालको भनाई छ । समग्र खाद्यन्नमा भने रुकुम पश्चिम आत्मनिर्भर  रहेको कार्यालयले जनाएको छ ।
 
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update