
गाडिको ठक्करबाट अमेरिकामा मृत्यु भएका ओपेन्द्र बोहराको दाहसंस्कार गरिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३, नेपाने घर भै टेक्सास राज्यको अष्टिन बस्ने २० वर्षिय बोहराको १५ दिनपछि दाहसंस्कार गरिएको हो । अष्टिनको ६०४ स्टेट हाइवय ९५ एल्गिनमा स्थानीय समय अनुसार आइतबार दिउँसो अन्तिम दाहसंस्कार गरिएको बोहराका भिनाजु योगेश देवकोटाले जानकारी दिनुभयो ।
दाहसंस्कारमा आफन्त, इष्टमित्र, साथीभाइ लगायत सहभागि भएका थिए । गत जुलाई २५ तारिख शुक्रबार विहान उनलाई गाडिले ठक्कर दिएको थियो । रातिको काम सकेर विहान घर फर्कने क्रममा उनलाई गाडिले ठक्कर दिएको थियो । सडकमै घाइते अवस्थामा भेटिएका बोहरालाई प्रहरीले स्थानीय अस्पताल पुर्याएको थियो । भर्ना गरेको दुई दिनपछि अस्पतालले बोहरालाई मृत घोषणा गरेको थियो ।
एक वर्ष अघि अमेरका पुगेका बोहराको दाहसंस्कार र पारिवारिक सहयोगका लागि आर्थिक संकलन पनि गरिएको थियो । गो फण्ड मी र प्रत्यक्ष गरी सहयोग संकलन गरिएको थियो । विभिन्न व्यक्तिबाट प्राप्त सहयोगले दाहसंस्कारमा सघाउ पुगेको आफन्तले जनाएका छन् ।