
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ को घेत्मा स्वास्थ्य चौकीमा एक युवकले तोडफोड गरेका छन् । मादक पदार्थ सेवन गरी साउन २६ गते राती १०ः५७ बजेतिर खुँडा सहित स्वास्थ्य चौकीमा प्रवेश गरेका सोही वडाको ज्यामिरकोटका २४ वर्षीय तिलक मल्लले स्वास्थ्य चौकीमा तोडफोड गरेका हुन् ।
साथै उनले स्वास्थ्यकर्मी माथि हातपात गर्दै ज्यान मार्ने धम्की समेत दिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । आपराधिक उपद्रो गर्ने मल्ललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त युवकले स्वास्थ्य चौकीको गेट तोडफोड गरी भित्र पसी होहल्ला समेत गरी स्वास्थ्य चौकीको प्राङ्गणमा रहेका सामानहरू तोडफोड गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालय राडीबाट आएको टोलीले सोही राती नियन्त्रणमा लिएको हो ।
उक्त व्यक्तिले स्वास्थ्य चौकीको गेट तोडफोड गर्नुका साथै स्वास्थ्य चौकीमा रहेको टेन्ट, आकस्मिक सेवाका लागि स्वास्थ्य संस्थामा तयारी अवस्थामा राखिएको गाडी र कुर्सीमा तोडफोड गरेको स्वास्थ्य चौकी इन्चार्ज देवबहादुर चन्दले जानकारी गराउनुभयो ।
एक गर्भवती प्रसूति सेवाका लागि स्वास्थ्य चौकीमा आएको र प्रसूति सेवा प्रदान गरिरहेका बेला मादक पदार्थले लट्ठिएका मल्ल स्वास्थ्य चौकी प्रवेश गरी महिला तथा पुरुष स्वास्थ्यकर्मी माथि हातपात, धकेलाधकेल गरी सेवा अवरुद्ध गर्न खोजेको उहाँले बताउनुभयो ।
यस्तो नगर्नुस् भनेर सम्झाइ बुझाइ गर्दा खुँडा लिएर बन्द गरेको कार्यालयको प्रवेशद्वार (गेट) तोडफोड गरी प्रसूति जोखिम भएमा अन्य स्वास्थ्य संस्थामा पठाउनका लागि तयारी अवस्थामा कार्यालय परिसरमा पार्किङ गरी राखिएको गाडीमा क्षति पुर्याएको उहाँले बताउनुभयो ।
यसका साथै कार्यालयको कुर्सी तोडफोड र टेन्टमा क्षति गरी स्वास्थ्यकर्मीहरूलाई अपशब्द प्रयोग गरेर गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको उहाँको भनाई छ । स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा सहज र निर्धक्क रूपमा काम गर्ने वातावरण सिर्जना गर्नुको साटो उल्टो कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिने र असहज वातावरण सिर्जना गर्ने काम भएको उहाँले बताउनुभयो ।
आफूहरू जोखिममा रहेको भन्दै उहाँले काम गर्ने सुरक्षित वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभएको छ । सहज वातावरण र सुरक्षाको प्रत्याभूति नहुँदासम्म उच्च मनोबलका साथ काम गर्ने अवस्था नरहेको स्वास्थ्य चौकी प्रमुख चन्दले बताउनुभयो ।