
रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका-१४, मा रहेको घेत्मा स्वास्थ्य चौकीमा साउन २६ गते राती भएको घटनाका दोषीलाई कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको माग गरिएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति रुकुम पश्चिम र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन रुकुम पश्चिमले विज्ञप्ति मार्फत घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही र स्वास्थ्यकर्मी सुरक्षाको माग गरेका हुन् ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति रुकुम पश्चिमले उक्त घटनाले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साउन २६ गते सोमबार राती करिब ११ बजे तिर नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन रुकुम पश्चिमका सदस्य तथा घेत्मा स्वास्थ्य चौकी इन्चार्ज देवबहादुर चन्द लगायत अन्य ३ जना स्वास्थ्यकर्मी माथि प्रसूति सेवा प्रवाह गरी रहेको अवस्थामा सोही वडा निवासी २४ वर्षीय तिलक मल्लले हातमा खुँडा लिएर हातपात तथा तोडफोड गर्दै ज्यान मार्ने धम्की दिएको घटना गम्भीर रहेको सङ्गठनले जनाएको छ ।
घटनाको भर्त्सना गर्दै सङ्गठनले कर्मचारीको पेसागत हक हितको संरक्षण तथा सेवाको सुरक्षाको जोडदार माग गरेको हो । बिना कारण राष्ट्रसेवक कर्मचारी माथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की दिनु अशोभनीय, निन्दनीय र अराजकताको पराकाष्ठा हो, सङ्गठनका कार्यवाहक अध्यक्ष यमा केसी र सचिव देवबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्ता खाले घटनाले कर्मचारीको मनोबल गिराउने भएकाले आगामी दिनमा कर्मचारी माथि हुनसक्ने यस्ता अवाञ्छनीय एवं अमर्यादित कार्यहरू प्रति सङ्गठनले स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण समेत बनाएको छ । साथै दोषी उपर कानुन बमोजिम कारबाही नभए आन्दोलनमा उत्रने सङ्गठनले चेतावनी समेत दिएको छ ।
यसैबिच राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन रुकुम पश्चिमले पनि घटनाले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्गठनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खटिने राष्ट्रसेवक कर्मचारीमाथि भएको अमानवीय हर्कत प्रति घोर निन्दा र भर्त्सना गरेको हो ।
स्थानीय व्यक्तिनै यस्ता कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर त्रासपूर्ण वातावरण सिर्जना हुँदा राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भई सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने गर्दछ सङ्गठनका अध्यक्ष डिल्लीराज बोहरा र सचिव दिनेश विष्ट मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गराउनुका साथै मानसिक तथा भौतिक रूपमा सुरक्षित महसुस गरी भयरहित वातावरणमा काम गर्ने वातावरण निर्माणका गरी घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न सङ्गठनले माग गरेको छ । घटनामा संलग्न मल्ललाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नियन्त्रणमा लिइसकेको छ । उनी विरुद्ध ‘आपराधिक उपद्रव’ शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।