Kakhara सबैको खबर सम्पूर्ण खबर
जगतिपुरमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापना शिविर सम्पन्न

भेरी नगरपालिका वडा नं. ११ मा जगतिपुर स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापना शिविर सम्पन्न भएको छ ।  भेरी नगरपालिकाको समन्वयमा ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेसन नेपाल र  पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको साझेदारीमा  सञ्चालित अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनर्स्थापना र आर्थिक तथा सामाजिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत शिविर सञ्चालन गरिएको हो । 

विशेष गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो । शिविरबाट भेरी नगरपालिकाको वडा नम्बर ११, ८, ५, १२ र ९ का शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले सेवा लिएका छन् । शिविरमा ५३ जनाले सेवा लिएका छन् । २३ जना पुरुष र ३० जना महिला मध्ये १७ जना अपाङ्गताको विभिन्न कार्ड पाएका व्यक्तिहरूले सेवा लिएको आयोजकले जनाएको छ । ३२ जनाले विभिन्न सहायता सामाग्रीहरू ह्विलचियर, ट्वाइलेट चियर, लट्ठी, लम्बर बेल्ट लगायतका सामाग्रीहरू पाएका छन् ।

शिविरमा प्राविधिकको रूपमा जिल्ला अस्पताल जाजरकोटमा कार्यरत फिजियोथेरापिष्ट विमला सारुमगरले सेवा दिनुभएको थियो । शिविरमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक परीक्षण गरी सोही अनुसार विभिन्न कसरतहरू सिकाउने, आवश्यकताको आधारमा सहायता सामाग्री वितरण गर्ने, माथिल्लो निकायमा रिफरको लागि समन्वय गर्ने, अपाङ्गता कार्ड, नागरिकता लगायत अन्य महत्त्वपूर्ण कार्यको लागि समन्वय, सहजीकरणको लागि पहिचान पनि गरिएको थियो । 

1000064807-1755264988.jpg
शिविरमा वडा नम्बर १२ का वडा अध्यक्ष भक्तबहादुर मल्ल, कार्यपालिका सदस्य मोती नेपाली, स्वास्थ्य चौकी प्रमुख सुनिल पुन र अन्य कार्यरत कर्मचारी लगाएको उपस्थिति रहेको थियो । 

यस परियोजनाले जाजरकोट जिल्लाको अधिकांश स्थानमा शिविर सञ्चालन गर्दै आइरहेको छ । जसमा भेरी नगरपालिका, नलगाड नगरपालिकाका विभिन्न स्थानहरू, कुशे गाउँपालिकाको टाले गाउँ स्वास्थ्य चौकी र घरङगा स्वास्थ्य चौकी तथा जुनिचाँदे गाउँपालिकाको सिर्पा स्वास्थ्य चौकी र गर्खाकोट स्वास्थ्य चौकी गरी हालसम्म ११ स्थानमा शिविर सञ्चालन भएको परियोजना संयोजक वीरबहादुर विकले बताउनुभयो । 

परियोजनाको मुख्य गतिविधिको रूपमा रहेको यो क्रियाकलापले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा निकै सहजता ल्याएको उहाँको भनाई छ ।

फिजियोथेरापिष्ट सहितको टोलीले आवश्यक सहायकता सामाग्रीहरू लिएर उनीहरूको पहुँच पुग्ने स्थानमा गएर सेवा प्रदान गरिरहेको छ । यस कार्यबाट सम्बन्धित सरोकारवालाहरूले प्रशंसा गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update