Kakhara सबैको खबर सम्पूर्ण खबर
यसरी हुँदै छ मुसिकोट मिनी म्याराथनको तयारी

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आयोजित मुसिकोट हेरिटेज रन (मिनी म्याराथन)को तयारी धमाधम चलिहरेको छ । आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रायोजक खोज्ने, प्रचारप्रसार गर्ने देखि अन्य तयारी लगभग सकिएको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा म्याराथन संयोजक पूर्ण ओलीले जानकारी दिनुभयो । म्याराथन भदौ १२ गते सञ्चालन हुने छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ५ को डिग्रे साइकुमारी मन्दिरबाट सुरु हुने म्याराथन डिग्रे मन्दिरमै पुगेर सम्पन्न हुने छ । म्याराथनमा सहभागी धावकहरूले डिग्रे मन्दिरबाट जन्ती लेक, खारादह, ठुली दह, साँखदह हुँदै डिग्रे साइकुमारी मन्दिरसम्मको दुरी पार गर्नुपर्ने छ । म्याराथन संयोजक ओलीले प्रतियोगिताका लागि आर्थिक सहयोग सङ्कलन भएको बताउनुभयो ।

उक्त प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन मुसिकोट नगरपालिका-६, का कमल महतले गर्नुभएको छ भने दोस्रो पुरस्कार यति बिल्डर्स रुकुम पश्चिम र तेस्रो पुरस्कार मुसिकोट–४ सोलाबाङ निवासी मुकुन्द शर्माले गर्ने पक्का भएको ओलीको भनाई छ । यस्तै २ वटा सान्त्वना पुरस्कार रुकुमेली वाङ्मय अधिष्ठान र २ वटा स्वान्त्वना पुरस्कार सगरमाथा आरोही रुकुम पश्चिम सानीभेरीका बमकाजी सिर्पाली तथा थप २ वटा सान्त्वना पुरस्कारको प्रायोजन प्रेम ओलीले गर्नुभएको छ ।

२५ वटा लोगो अङ्कित टिसर्टहरू विजयश्वरी बोर्डिङ स्कुल मुसिकोटले प्रायोजन गर्ने ओलीले बताउनुभयो । उक्त दौड प्रतियोगिताको प्रथम पुरस्कार राशि २५ हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १५ हजार तोकिएको छ । ६ वटा सान्त्वना पुरस्कार समान ५ हजार राखिएको छ । मुसिकोट नगरपालिकाका मुख्य मुख्य सम्पदा स्थल छुने गरी म्याराथनको नक्सांकन गरिएको आयोजकले जनाएको छ ।

२८ किलोमिटर लामो दौड प्रतियोगिताको रुटको अधिकांश भाग कच्ची तथा पक्की सडक पर्ने, केही भाग व्यवस्थित ढुङ्गा बिछ्याइएको पदमार्ग र जन्ती लेकको करिब १ किलोमिटर भागबाहेक बाँकी भाग तर्सो र ओरालो फराकिलो गोरेटो बाटो पर्ने म्याराथन संयोजक ओलीले जानकारी गराउनुभयो । यो रुट नयाँ धावकहरूको निम्तिसमेत धेरै नै सजिलो रहेको उहाँले बताउनुभयो ।

उक्त प्रतियोगितामा राष्ट्रिय धावकहरूलगायत ५० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ । धावकहरूले म्याराथनमा भाद्र ५ गतेभित्र नाम दर्ता गर्न सक्ने छन् । दर्ता शुल्क ५ सय तोकिएको छ । साथै धावकहरूले नागरिकताको प्रतिलिपि, मेडिकल रिपोर्ट र स्वघोषणापत्र पेस गर्नुपर्नेछ ।

राप्ती साहित्य परिषद्ले मुसिकोटका सम्पदाहरूको परिचय र संवर्द्धन गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको अन्य सहयोगीहरूमा कवीन्द्र पुन, खगेश्वर भण्डारी, पूर्ण ओली, एक्कबहादुर केसी, जोगेन्द्र पुन, दिलबहादुर खडका, दलबहादुर खडका र जयबहादुर थापा रहनुभएको छ । आयोजकका अनुसार उहाँहरूले १ हजार देखि ५ हजारसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update