
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राइज–अप परियोजनाले अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारलाई लक्षित गरी चार दिने जीविकोपार्जन सम्बन्धी तालिम सुरु गरेको छ ।
आजबाट सुरु भएको तालिम बिहीबार सम्म चल्ने छ । तालिममा नगरपालिकाभित्र रहेका १४ वटै वडाका अपाङ्गता सञ्जाल समितिबाट २÷२ जना सदस्य गरी जम्मा २८ जनाको सहभागिता रहेको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिमको पहिलो दिन सहभागीहरूलाई आयआर्जनका अवसरहरूको परिचय, सीप तथा स्रोत नक्साङ्कन, व्यवसाय योजना निर्माणका आधारभूत पक्षहरू, सूक्ष्म वित्तमा पहुँच र सहायक सेवाको उपयोग सम्बन्धी विषयमा प्रशिक्षण गरिएको छ ।
पहिलो दिनको सहजीकरण मानव विकास तथा सामुदायिक सेवा सामुदायिक विकास कार्यक्रमका प्राविधिक संयोजक तारा हाङ तावाले गर्नुभएको थियो ।
तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारलाई आत्मनिर्भर बनाउन सहयोग गर्नु, कृषि तथा पशुपालनसँग सम्बन्धित सीप प्रदान गरी व्यावसायिक ढङ्गले आयआर्जन गर्न प्रोत्साहित गर्नु र सामुदायिक स्तरमा आत्मनिर्भर जीवनशैली विकास गर्नु रहेको छ ।
सहभागीहरूलाई आधुनिक तथा वातावरणमैत्री खेतीपाती अभ्यास, मौसमी योजना अनुसार बाली छनोट गर्ने तरिका, माटो व्यवस्थापन र मलको उचित प्रयोग, कीरा–रोग नियन्त्रण जस्ता व्यावहारिक विषयमा तालिम प्रदान गरिने परियोजना अधिकृत जैसीले जानकारी दिनुभयो ।
त्यसै तालिमका सहभागीहरूलाई सिँचाइ तथा पानी व्यवस्थापन, जैविक खेतीका अभ्यास, उत्पादन भण्डारण र संरक्षण, बजार व्यवस्थापनका आधारभूत तरिका लगायतका विषय सिकाइने छ ।
साथै तालिममा पशुपालनसम्बन्धी विषयहरू– पशु प्रजनन, पशु स्वास्थ्य, रोग नियन्त्रण, आहार व्यवस्थापन तथा पशुजन्य उत्पादनको बजार व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइने राइज–अप परियोजनाका परियोजना अधिकृत जैशीले जानकारी दिनुभयो ।
तालिमले अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारलाई दिगो रोजगारी र आयआर्जनको बाटोमा अघि बढाउन सहयोग पुग्ने परियोजनाले अपेक्षा गरेको छ ।।