Kakhara सबैको खबर सम्पूर्ण खबर
अढाई वर्षका शिशिर घरबाटै बेपत्ता, खोजीका लागि कुकुर परिचालन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ गवारीका रुद्रबहादुर बोहराका अढाई वर्षका छोरा बेपत्ता भएका छन् । २ वर्ष ५ महिनाका शिशिर बोहरा शनिवार साँझ घरबाटै बेपत्ता भएको बुवा रुद्रबहादुरले बताउनुभयो । 

परिवारका सबै सदस्य काममा रहेको र छोरा घरमा एक्लै रहेको अवस्थामा हराएको उहाँले बताउनुभयो । आफू बारीबाट तरकारी लिएर १० मिनेटमा फर्किदा छोरा घरमा नभएको उहाँको भनाई छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएपछि आजबाट नेपाल प्रहरीको कुकुरको मदतमा खोजी सुरु गरिएको छ । 

प्रदेश प्रहरी के नाइन शाखा कोहलपुरबाट २ वटा तालिमप्राप्त कुकुर ल्याएर शिशिरको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार लुना र जम्बाे नामका दुई वटा कुकुरको मदतमा बेपत्ता बालकको खोजी भइरहेको छ । 

अहिलेसम्म भने कुनै जानकारी प्राप्त हुन नसकेको उहाँको भनाई छ । शिशिर पहिलो सन्तान हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update