Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्युत प्राधिकरणकाे ४० औँ वार्षिकोत्सवः रुकुम पश्चिममा खेलकुद प्रतियोगिता सञ्चालन

नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा रुकुम पश्चिम वितरण केन्द्रले ब्याडमिन्टन सहित विभिन्न कार्यक्रम गरेको छ । पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन, महिला सिङ्गल ब्याडमिन्टन र घैटोफोर तथा कुर्सी रेस प्रतियोगिता आयोजना गरेर वार्षिकोत्सव मनाइएको नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । 

मुसिकोट नगरपालिका ५ शेरिगाउँमा सञ्चालित कर्मचारी बिचको पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा सुनिल बिएम र सालिकराम शर्माको जोडी प्रथम भएको छ । फाइनलमा द्रोणबहादुर शाही र लालबहादुर खाम्चाको जोडीलाई पराजित गर्दै उक्त जोडी प्रथम भएको हो । 

प्रतियोगितामा प्रेमप्रकाश चपाई र सीमान्त राना तथा सुनिल केसी र रोलबहादुर मल्लको जोडी सान्त्वना भएका छन् । पुरुष सिङ्गल तर्फ दीपक रोका प्रथम, सीमान्त राना द्वितीय तथा देवबहादुर नेपाली र दलबहादुर घर्ती सान्त्वना भएको विद्युत् प्राधिकरणका कर्मचारी सुनिल बिएमले जानकारी दिनुभयो । 

महिला सिङ्गल तर्फ भने ज्योति परियार धामी प्रथम हुँदा ललिता केसी खड्का द्वितीय भएको बताइएको छ । वार्षिकोत्सवकै अवसरमा आयोजित घैटोफोरमा घनश्याम केसी प्रथम हुँदा कुर्सी रेसमा कोपिला बुढामगर प्रथम भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update