
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाइ गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामुदायिक सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैङ्क लिमिटेड नेपालको आर्थिक सहयोगमा र बास नेपाल को समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित प्रसिद्ध शक्तिपिँठ बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र, तलाउ क्षेत्र, तथा मन्दिरको चारै तर्फ सरसफाइ गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै क्लिन अप नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेले समुदाय सरसफाइ एक व्यक्ति वा निकायले गरेर मात्रै नहुने बताउँदै सबैको संयुक्त प्रयास (सिनर्जी) कार्य मार्फत गर्नुपर्ने आवश्यकता महसुस गरी कार्यक्रमको योजना गरिएको बताए । उनले नेपालगन्जको सौन्दर्यीकरण सबै लाग्न अनुरोध गर्नुभयाे ।
कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर बैङ्क लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा समुदाय सरसफाइ अभियानले स्थानीयहरूमा सचेतना फैलाएको बताउनुभयाे । दिगो सरसफाइ अभियानमा प्रोत्साहन र प्रवर्द्धनमा बैङ्कले आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बास नेपालका अध्यक्ष शिव कुमार वर्माले जलवायु परिवर्तन, वातावरण संरक्षण र हरित योजना सम्बन्धी जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा क्लिन अप नेपालले गरेको कार्य समुदाय सचेतनाका लागि महत्त्वपूर्ण हुने बताउनुभयाे । उहाँले नेपालगन्जलाई सुन्दर बनाउने अभियानमा सहयोग तथा सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नभयाे ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक रवीन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ट्यान्डर्ड चार्टर बैङ्क लिमिटेड नेपालका शाखा प्रबन्धक हर्मेस सोनी, नेपालगन्ज उपमहानगरपालिका वातावरण शाखाका शिव लामिछाने, ग्रिन नेपालगन्ज र क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलाश विक्रम शाही, प्रीति प्रधानाङ्ग लगायत ४५ जना को सहभागिता रहेको थियो ।
सामुदायिक सरसफाइ कार्यक्रममा कुल फोहर १ सय ३७ किलोग्राम फोहर सङ्कलन भयको थियो । परियोजना अन्तर्गत क्लिन अप नेपालले बाँकेको नेपालगन्जमा समुदाय सरसफाइ अभियान, वृक्षारोपण लगायत सचेतना मूलक कार्यक्रम गर्दै आएको छ ।