१९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा रुकुम पश्चिममा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयको आयोजनामा दिवसको अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा नेपालमा सूचनाको हक प्रचलन सम्बन्धी जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत कुमारी रिमा मल्लले प्रस्तुति करण राख्नुभएको थियो ।
सूचना सम्बन्धी संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, संस्थागत व्यवस्था, नागरिकका हक र कर्तव्य लगाएका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । त्यस्तै सूचनाको हक सम्बन्धी नियमावली, सूचना आयोगको अधिकार, गोपनीयता, सूचना अधिकारीको काम र कर्तव्य लगायतका बारेमा पनि हुलाक अधिकृत मल्लले प्रस्तुति राख्नुभएको थियो ।
कुन सूचना दिने, कुन सूचना नदिने लगायतका विषयमा जानकार भएर मात्रै सूचना प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले कार्यालय प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिनुभएको थियो । सामान्य कमजोरी गर्दा पनि सजाय भोग्नु पर्ने हुँदा यस्ता स-सना कुरामा पनि ध्यान दिएर सूचना सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो । आम नागरिकको सूचना प्राप्त गर्ने अधिकार भएकाले पत्रकारलाई मात्र नभएर आम नागरिकका लागि सूचना दिनुपर्ने उहाँको भनाई थियो ।
सार्वजनिक निकाय तथा सङ्घसंस्थाहरूले आफूले गरेका गतिविधि समय समयमा सार्वजनिक गर्नुपर्नेमा सहभागीहरू जोड थियो । तत्कालै दिनुपर्ने सूचना कार्यालयले नदिने गरेका, आर्थिक वर्ष सकिएको २/३ महिना बितिसक्दा पनि धेरै जसो सार्वजनिक निकायहरूले सार्वजनिक सुनुवाइ नगर्ने गरेको सहभागीहरूको गुनासो थियो ।
त्यस्तै योजना सम्पन्न भए पनि सामाजिक लेखा परीक्षण लगायतका गतिविधि नगर्ने गरेको सहभागीहरूले बताएका थिए । सार्वजनिक निकायले मापदण्ड अनुसार सार्वजनिक सुनुवाइ गर्नुपर्ने, सामाजिक लेखा परीक्षण समयमै गर्नुपर्ने माग राखेका थिए । साथै सूचना दिने निकायले पनि समयमै सूचना उपलब्ध बनाउनुपर्ने सहभागीहरूको जोड थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिसी, जिल्ला प्रहरी प्रमुख प्रमेश विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत नेवबहादुर राना, पत्रकार महासङ्घका उपाध्यक्ष सुमित्रा केसी, सरकारी कार्यालयका सूचना अधिकारी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।