Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा तीन  वर्षमा ७ सय बढी उद्योग दर्ता, खारेजीको संख्या  बढ्दै 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिममा बितेको तीन आर्थिक वर्षमा ७ सय ३ वटा उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् । सोही अवधिमा ६७  वटा उद्योग खारेजी भएको  कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षमा जिल्लामा उद्योग दर्ता तथा नवीकरणको सङ्ख्या कम कमी र  खारेजीको सङ्ख्या भने वृद्धि हुँदै गइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ३ सय ६३ उद्योग दर्ता भएका भएकामा २ सय २६ उद्योग नवीकरण भएका थिए । आर्थिक वर्ष ०७९/०८० मा २ सय २८ उद्योग दर्ता हुँदा १ सय ३८ उद्योग नवीकरण भएकामा गत आर्थिक वर्ष ०८०/०८१ मा भने १ सय ५० उद्योग दर्ता भएकामा २ सय १६ वटा उद्योग नवीकरण भएका छन् ।  खारेजीतर्फ आर्थिक वर्ष २०७८/०७९ मा १५, २०७९/०८० मा २५ र  गत आर्थिक वर्षमा २७ उद्योग गरी कुल ६७ उद्योग खारेजी  भएको सूचना अधिकारी ओलीले जानकारी दिनुभयो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उत्पादनमूलक, कृषि तथा वन पैदावार खनिज, निर्माण, पर्यटनमूलक, सेवामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगहरू दर्ता तथा नवीकरण हुने गरेका छन् ।

 गत आर्थिक वर्षमा मात्रै उत्पादनमूलक तर्फ १६ उद्योग दर्ता भएका छन् । त्यस्तै कृषि वन पैदावारतर्फ ३४, निर्माणतर्फ ३, पर्यटन तर्फ १५, सूचना प्रसारण तथा सञ्चार प्रविधितर्फ १ र सेवामूलकतर्फ ४३ उद्योग गरेर कुल १ सय १२ उद्योग दर्ता भएका उहाँले बताउनुभयो । जसमा पुरुष ३ सय ७ र महिला १ सय ६८ गरेर कुल ४ सय ७५ जनाले रोजगार पाएका छन् ।  त्यसै गरी गत आवमा वाणिज्य तर्फ ३८ उद्योग दर्ता हुँदा ६१ वटा नवीकरण भएका छन् । भने ८  वटा खारेजी भएका छन् । ४ वटा वाणिज्य तर्फका उद्योग स्थानान्तरण गरिएको छ । उद्योग दर्ता तथा नवीकरणको सङ्ख्या घट्दै जाँदा राजस्व सङ्कलनमा समेत कमी हुँदै गएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षदेखि साना उद्योगहरू स्थानीय तहमै दर्ता हुने गरेकोले पनि दर्ता तथा राजस्वमा कमी आएको अनुमान गरिएको छ । स्थानीय तहमा उद्योगतर्फ तीन लाख भन्दा कम र वाणिज्यतर्फ दश लाख भन्दा तलको व्यवसाय दर्ता हुने गरेका छन् । सोभन्दा माथिका उद्योगहरू उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता हुँदै आएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update