
रुकुम पश्चिम र पूर्व सहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार सिडिओ सरुवाको लिस्ट सार्वजनिक गरेको हो । गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुकुम पूर्व, पश्चिमसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सरुवा भएका छन् । रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारीको रूपमा दिनेशप्रसाद थानी र रुकुम पूर्वमा सिता परियार सरुवा भएर आउन लाग्नुभएको हो ।
उप-सचिव थानी र परियार दुवै गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी हुने महिला समेत हुनुहुन्छ । उहाँ २०७८ साल फागुनमा हुम्लाको प्रमुख जिल्ला अधिकारी हुनुभएको थियो । कास्कीको रुपा गाउँपालिका १ निवासी परियार शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको गृह मन्त्रालयमा सरुवा भएको छ । यसैबिच रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनाेद रेग्मीकाे समेत सरुवा भएकाे छ । उहाँकाे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरुवा भएकाे हाे ।