
नेपालका एक व्यक्तिले पूर्वी अफ्रिका सेसेल्समा एक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रेफ्रिकाे भूमिका निर्वाह गरेको छन् । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सका संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार एवं नेपाली रक्तदाता सङ्घ सेसेल्सका अध्यक्ष कमान सिंह खत्रीले पूर्वी अफ्रिका सेसेल्समा आयोजित एक ब्याडमिन्टन प्रतियोगितामा रेफ्रिकाे भूमिका निभाउनुभएको हो ।
सीजेएसओआई (Commission for Youth and Sports of the Indian Ocean) मा १९ वर्ष मुनिका युवाहरूको ब्याडमिन्टन प्रतियोगितामा खत्रीले रेफ्रिकाे भूमिकामा सहभागी हुनुभयो । राष्ट्रिय खेलकुद परिषद् सेसेल्सको सिफारिसमा उहाँले यो जिम्मेवारी सफलतापूर्वक पुरा गरेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् सेसेल्सका निवर्तमान अध्यक्ष मनोज विकले जानकारी दिनुभयो ।
सीजेएसओआई १९९४ मा स्थापना भएको इन्डियन ओसियनका सात वटा राष्ट्र वा देशहरूको एक क्षेत्रीय अन्तर सरकारी निकाय हो ।यसमा कोमोरोस, डिफौट, मदागास्कर, मोरिस, मयोट, रीयूनियन र सेसेल्स सदस्य रहेका छन् । यस क्षेत्रीय सङ्गठनको उद्देश्य मित्रता, क्षेत्रीय सहयोग र हिन्द महासागर क्षेत्रका सदस्य देशहरूमा युवाहरू र खेलहरूको विकासलाई प्रवर्द्धन गर्नु हो I
यस सङ्गठनले विभिन्न खेलहरू समेत आयोजना गर्छ । जुन सहभागी राष्ट्रका युवा खेलाडीहरूको लागि एक बहु-खेल कार्यक्रम हो । हरेक दुई वर्षमा आयोजना हुने यो प्रतियोगिता यसवर्षकाे १३ औँ संस्करण सेसेल्सले आयोजना गर्ने भूमिका पाएको थियो । जसअनुसार सफलता पूर्वक सम्पन्न गरेको छ I
सन् २०१५ देखि पूर्वी अफ्रिका सेसेल्सको एफआइयु (Financial Intelligence Unit) मा कार्यरत रहेका खत्री नेपालको सैनामैना-१-रुपन्देही निवासी हुनुहुन्छ । २२ वर्ष नेपाली प्रहरीमा रहनुभएका खत्री प्रहरी नायव निरीक्षक पदबाट सेवा निवृत्त पश्चात् सेसेल्स जानुभएको हो भने खत्री नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्रि पनि हुनुहुन्छ ।