
रुकुम पश्चिमको एक विद्यालयमा बुबाको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा अवस्थित सिद्धार्थ माविमा बुबाको मुख हेर्ने दिनकाे अवसरमा अक्षय कोष स्थापना गरिएको हो ।
स्वर्गीय अमरसिंह कुसारीको सम्झनामा कुशे औसीमा धर्मपत्नी, छोराहरू शिक्षक टेकबहादुर कुसारी, समाजसेवी गोर्खबहादुर कुसारी, युवा व्यवसायी बुद्धिजीवी नेत्रबहादुर कुसारी तथा छोरीहरूले अक्षय कोष स्थापना गर्नुभएको हो । विद्यालयमा तीन लाखको "अमर सिंह" छात्रवृत्ति अक्षयकोष खडा गरिएको हो । उक्त कोष विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तप्तवहादुर पुन, वडा अध्यक्ष मनोज कुमार अधिकारी, बाँफिकोट शिक्षा समिति सदस्य देवबहादुर कुसारी, विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपेन्द्रराज कुसारी र प्रधानाध्यापक नदिराम केसीलाई औपचारिक कार्यक्रमका साथ चेक हस्तान्तरण गरिएको हो ।
स्वर्गीय अमरसिंह प्रेरणादायी व्यक्तित्व र समाजमा पछि परेका हेपिएका, गरिब, निमुखा वर्गको पक्षमा उभिने एक प्रगतिशील नेतृत्व हुनहुन्थ्यो । साथै उहाँ समाजको एक अब्बल किसान पनि हुनुहुन्थ्यो । उहाँ जिल्ला कृषि कार्यालयवाट पनि सम्मानित हुनु भएको थियो । अति मिलनसार समाजसेवी समुदाय र पुस्ताको अमूल्य निधिको रूपमा हुनुहुन्थ्यो ।
लामो समय सामाजिक सेवामा सक्रिय हुनुभएका सिंह अहिले पनि सबैको मन मस्तिष्कमा रहेको कार्यक्रमका सहभागीहरूको भनाई थियो । साथै सहभागीहरूले उहाँको व्यक्तित्व, कला र सेवा भाव समाजको लागि सदैव स्मरण र नयाँ पुस्ताको लागि प्रेरणाको स्रोतको रूपमा रहेको बताएका थिए ।
उहाँको नाममा छात्रवृत्ति अक्षयकोष खडा गरिदिने उहाँको परिवार, छोराछोरी सबैमा विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । उक्त कोषबाट अध्ययनरत गरिब, जेहेन्दार, टुहुरा, सहिद परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।