रुकुम पश्चिममा भोली बिहीबार सञ्चालन हुन लागेको मुसिकोट हेरिटेज रन (मिनी म्याराथन)को तयारी पूरा भएको छ । राप्ती साहित्य परिषद् रुकुम पश्चिमले आयोजना गरेको म्याराथनको रुट पहिचान, मार्किङ, इन्ट्री पोस्ट, मेडिकल टिमको व्यवस्थापन, प्रचारप्रसार, धावक आउने लगायतका सबै तयारी पूरा भएको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा म्याराथन संयोजक पूर्ण ओलीले जानकारी दिनुभयो ।
म्याराथनमा पूर्वको भोजपुर देखि पश्चिमको कैलालीसम्मका धावकहरू सहभागी हुन लागेको उहाँले बताउनुभयो । २० देखि २५ धावकले म्याराथनमा भाग लिने देखिएको ओलीको भनाई छ । उहाँका अनुसार प्रतियोगिता भोली बिहान ८ बजे मुसिकोट नगरपालिका वडा नम्बर ५ को डिग्रे मन्दिरबाट सुरु हुने छ ।
डिग्रे मन्दिरबाट सुरु भएको म्याराथन घिमाने, जन्ति ओलप्पेको लेक, डयरीचौर, सातदुले पोखरी, पोखरा, खारादह, स्यान दह, ठुली दह, बैरीदह, साँख दह, नुनथला गेट हुँदै पुनः डिग्रे मन्दिरमा पुगेर सकिने छ । म्याराथनको दुरी २८ किलोमिटर रहेको छ । प्रतियोगिताको विजेताले २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
दोस्रो पुरस्कार २० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार ५ हजार पुरस्कार तोकिएको छ । प्रथम, दोस्रो र तेस्रो तथा ७ वटा सान्त्वना पुरस्कार गरी कुल १० जनालाई पुरस्कृत गरिने संयोजक ओलीले जानकारी गराउनुभयो । म्याराथनका लागि सुरक्षा व्यवस्था सहित स्वास्थ्यको राम्रो व्यवस्था रहेको उहाँको भनाई छ ।
म्याराथनका लागि रुट समेत राम्रो रहेको र धावकले हिमाल, पहाड तथा तराइको महसुस समेत गर्न पाउने ओलीले बताउनुभयो । मुसिकोटका प्रमुख पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ ।
मुसिकोटका प्रमुख पर्यटकीय स्थलका बारेमा धेरैलाई जानकारी समेत हुन नसकेको र जानकारीमा रहेका स्थलहरूको पनि संरक्षण हुन नसकेको अवस्थामा पर्यटकीय स्थलको प्रचार, संरक्षण तथा प्रवर्द्धनका लागि म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
म्याराथन विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा सञ्चालन गर्न लागिएको हो । पुरस्कार तथा व्यवस्थापनका लागि देश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।