Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट हेरिटेज रन दुर्गाले जिते
दायाँबाट क्रमश: प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने धावकहरू ।

रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित मुसिकोट हेरिटेज रन (मिनी म्याराथन) रुकुम पश्चिमका दुर्गाराज बुढाले जित्नुभएको छ । मुसिकोट नगरपालिका ५ का बुढाले निर्धारित २८ किलोमिटर दुरी १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा पार गर्नुभयो ।

त्यस्तै रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का पञ्चराम बुढामगर दोस्रो र रुकुम पूर्व भूमे ३ का शक्तिराम रोका तेस्रो हुनुभयो । बुढाले निर्धारित दुरी १ घण्टा ५७ मिनेट ४६ सेकेन्ड र रोकाले २ घण्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गरेको आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ । 

मुसिकोट नगरपालिका १ का भुवन केसी चौथो र षडानन्द ४ भोजपुरका विशाल तामाङ पाँचौँ हुनुभयो । उहाँहरूले निर्धारित दुरी क्रमशः २ घण्टा ६ मिनेट ३६ सेकेन्ड र २ घण्टा १० मिनेट ३५ सेकेन्डमा पुरा गर्नुभएको थियो । 

रुकुम पश्चिमको सानीभेरी ३ का भुवन ओली छैटौँ, जाजरकोट बारेकोट गाउँपालिका २ का महेन्द्र शाही सातौँ, रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का धनबहादुर केसी आठौँ, रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का लोकेन्द्र बुढामगर नवौँ र रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का किस्मत केसी दशौँ हुनुभयो । 

विजेता दुर्गाराजले २५ हजार, दोस्रो हुने पञ्चरामले २० हजार र तेस्रो हुने शक्तिरामले १५ हजार नगद पुरस्कार पाएको राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा म्याराथन संयोजक पूर्ण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चौथो र पाँचौँ स्थान प्राप्त गर्ने भुवन र विशालले ५/५ हजार पुरस्कार पाउनुभएको छ । 

अन्य सबै सहभागी धावकहरूलाई १/१ हजार रुपैयाँ प्रदान गरिएको ओलीले बताउनुभयो । म्याराथनमा २३ जना धावकले प्रतिस्पर्धा गरेका थिए । डिग्रे मन्दिरबाट सुरु भएको म्याराथन घिमाने, जन्ति ओलप्पेको लेक, डयरीचौर, सातदुले पोखरी, पोखरा, खारादह, स्यान दह, ठुली दह, बैरीदह, साँख दह, नुनथला गेट हुँदै पुनः डिग्रे मन्दिरमा पुगेर सकिएको थियो । 

मुसिकोटका प्रमुख पर्यटकीय स्थलका बारेमा धेरैलाई जानकारी समेत हुन नसकेको र जानकारीमा रहेका स्थलहरूको पनि संरक्षण हुन नसकेको अवस्थामा पर्यटकीय स्थलको प्रचार, संरक्षण तथा प्रवर्द्धनका लागि म्याराथनले महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ । 

म्याराथन विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा सञ्चालन गरिएको हो । पुरस्कार तथा व्यवस्थापनका लागि देश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।

राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको उद्घाटन तथा पुरस्कार वितरण समारोहमा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी दिनेश थानी र कर्णाली प्रदेशका पूर्व सचिव भरतकुमार शर्माको विशेष आतिथ्यता रहेको थियो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख जगदीश हमाल, प्रमुख अनुसन्धान अधिकृत नेबवहादुर राना, राजनीतिक दल, जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय लगायतको पनि उपस्थिति रहेको थियो । म्याराथन संयोजक पूर्ण ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद्का जिल्ला सचिव ओमबहादुर केसीले गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update