Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल पत्रकार महासंघ रुकुम पश्चिममा चैत्र देखि लागेको ताला खुल्यो 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको खलङ्गामा रहेको सम्पर्क कार्यालयमा लागेको ताला खुलेको छ । मुसिकोट नगरपालिका १ खलङ्गाको तल्लो बजारमा रहेको कार्यालयमा गत चैत्रमा तीन वटा सङ्गठनले लगाएको ताला आज खोलिएको हो । 

सदस्यता सुद्धिकरण तथा सिफारिस, आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली, पत्रकार आचार संहिता र पत्रकार महासङ्घलाई साझा बनाउनुपर्ने माग सहित प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस सङ्गठन रुकुम पश्चिमले चैत्र ५ गते तालाबन्दी गरेका थिए । 

लामो समयको छलफल र संवाद पछि आज ताला खुलेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । असन्तुष्ट पत्रकार सङ्घ सङ्गठनहरूसँगको छलफलबाट ताला खोल्न सफल भएको उहाँको भनाई छ । 

‘तीन सङ्गठनले उठाएका मागप्रति महासंघ सकारात्मक छ, उहाँहरूले उठाएका मागका विषयमा महासंघ र जिल्लास्थित सबै पत्रकार सङ्घ सङ्गठनका बिचमा छलफल गरी काम गर्ने गरी सहमति भएपछि उहाँहरू ताला खोल्न सहमत हुनुभयो,’ उहाँले भन्नुभयो । 

ताला खुलेसँगै महासङ्घको बैठक पनि बसेको उहाँले बताउनुभयो । बैठकले सदस्यता सुद्धिकरण, नवीकरण, आफ्नै भवनमा कार्यालय सञ्चालन, सदस्यता प्रकाशन तथा छिट्टै सदस्यता आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । महासङ्घको नेतृत्व प्रेस सेन्टर नेपालले गरिरहेको छ ।

patrakar-note-1756376055.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update