Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालय शिक्षा विधेयकको विरोधमा रुकुम पश्चिममा निजी विद्यालयको खबरदारी सभा

रुकुम पश्चिमका निजी विद्यालयहरूले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा खबरदारी सभा गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही बुँदामा गम्भीर आपत्ति जनाउँदै देशभरका नीति तथा आवासीय विद्यालयहरू आन्दोलनमा छ । रुकुम पश्चिममा पनि आन्दोलन भइरहेको छ ।

आन्दोलन अन्तर्गत आज मुसिकोटमा खबरदारी सभा गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन रुकुम पश्चिमका अध्यक्ष विमलकुमार शर्माले जानकारी दिनुभयो । जिल्लामा प्याव्सनको नेतृत्वमा आन्दोलनका कार्यक्रम भइरहेका छन् । 

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा निजी तथा आवासीय विद्यालयहरूले मुख्य ४ वटा बुँदामा आपत्ति जनाएका छन् । निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइनेछ भन्ने वाक्यांश र पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने माग निजी तथा आवासीय विद्यालयहरूको छ । 

1000077936-1756899457.jpg
त्यस्तै उनीहरूले पूर्ण छात्रवृत्ति दिन नसकिने अडान लिएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग प्याब्सनको छ । 

शिक्षा विधेयक हुबहु लागु भएमा देशको शैक्षिक चक्र मात्रै होइन आर्थिक चक्रलाई समेत गम्भीर ढङ्गले असर पुर्याउने निजी विद्यालयहरूको चेतावनी छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि यसमा सरकार गम्भीर हुन नसकेपछि सडक आन्दोलनमा उत्रिनु परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन रुकुम पश्चिमका अध्यक्ष शर्माले बताउनुभयो ।

1000077938-1756899445.jpg
आफूहरूका माग विद्यालय शिक्षा विधेयकमा नसमेटिँदासम्म आन्दोलन नरोकिने उहाँले बताउनुभयो । मुसिकोट खलङ्गाको पुष्पलाल चोकमा खबरदारी सभा गर्नु पूर्व खलङ्गाको बराहटाकुराबाट विरोध र्‍याली सुरु भएको थियो । उक्त र्‍याली तल्लो बजार, सहिद गेट, त्रिवेणी चोक, कालिका स्थान, बाल मन्दिर हुँदै पुष्पलाल चोकमा पुगेर सभामा परिणत भएको थियो । 

सभालाई सम्बोधन गर्दै प्याब्सनका कर्णाली प्रदेश प्रमुख सल्लाहकार तथा केन्द्रीय कानुन विभाग सदस्य खड्क कँवरले राज्यले निजी विद्यालयलाई राज्यले मार्न खोजेको आरोप लगाउनुभयो । सामुदायिक विद्यालयको तुलनामा राम्रो गर्न खोज्दा पनि निजी विद्यालयलाई राज्यले सौतेनी व्यवहार गरेको र यो आफूहरूलाई सह्य नहुने उहाँको भनाई छ । 

1000077937-1756899452.jpg
प्याब्सनका केन्द्रीय तालिम विभाग सदस्य जयबहादुर थापाले राज्यसँग कि वार कि पारको लडाइँ भइरहेको बताउनुभयो । राज्यको नीति नियममा रहेर गुणस्तरीय शिक्षा दिँदा पनि राज्यले फरक व्यवहार गरेको र यो व्यवहारले देशभरको शिक्षा तहसनहस हुने उहाँले बताउनुभयो ।

आज भएको खबरदारी सभामा रुकुम पश्चिमका १७ वटा निजी तथा आवासीय विद्यालयका शिक्षक कर्मचारीहरूको सहभागिता रहेको प्याव्सनले जनाएको छ ।

1000077940-1756899442.jpg

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update