Kakhara सबैको खबर सम्पूर्ण खबर
समाजसेवी तथा युवा नेता केसीद्वारा सानीभेरीका १५ सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान 
फाेटाेः घनश्याम खड्का/कखरा

रुकुम पश्चिमका एक समाजसेवी तथा युवा नेताले १५ सय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ निवासी राजु केसीले जिल्लाको सानीभेरी गाउँपालिकाका १ हजार ५ सय विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । 

गत वर्ष जस्तै यस वर्ष पनि केसीले जिल्लामा शैक्षिक सामग्री वितरण गरिरहनुभएको छ । जस क्रममा सोमबार र मङ्गलवार सानीभेरी गाउँपालिकाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्रका २४ वटा विद्यालयका बालबालिकाहरूलाई कापी, कलम, रिफिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । 

उहाँका अनुसार कक्षा ९ र १० का सबै बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ भने कक्षा १–८ का प्रति कक्षा ३ जनाका दरले गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक गुणस्तर कायम गर्न र शैक्षिक सामग्रीको अभावका कारण समस्या नहोस् भनेर ७ वटा मावि र १७ वटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सामग्री प्रदान गरिएको केसीले बताउनुभयो । 

raju-kc-book-1756900025.jpg
फाेटाेः घनश्याम खड्का/कखरा 

फरक फरक विद्यालयमा कार्यक्रम आयोजना गरी पायक पर्ने विद्यालयका विद्यार्थीहरूलाई बोलाएर शैक्षिक सामग्री वितरण गरिएको थियो । जनप्रिय मावि हासिवाङ, राप्ती ज्ञानोदय मावि सिम्ली, बाल ज्योति मावि गिठाकोट, सुर्योदय मावि बेल्टापु, भेरी दोभान मावि चाइनाबगर, शितल मावि पत्रैयाँ र सानीभेरी मावि मेघामा कार्यक्रम गरिएको थियो । 

जिल्लाका अन्य पालिकाका विद्यार्थीहरूलाई समेत शैक्षिक सामग्री वितरणको कार्यक्रम रहेको केसीले बताउनुभयो । केसीले गत वर्ष पनि जिल्लामा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update