हरि केसी र नरेन्द्र प्रकाश ओलीको जोडीले अल नेपाल कर्मचारी खुला डबल्स ब्याडमिन्टन प्रतियोगिता जितेको छ ।
नेपाल सर्भेयर्स एसाेसिएसनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित अल नेपाल कर्मचारी खुला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता २०८२ मा रुकुमेली नापी समाजको तर्फबाट सहभागी भई प्रथम भएको हो ।
हरि र नरेन्द्र जोडीले लगातार दोस्रो पटक यो प्रतियोगिता आफ्नो पोल्टामा पारेको हो । त्यस्तै हरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनलाई नापी विभागका महानिर्देशक प्रकाश जोशीबाट सम्मान समेत गरिएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम नापी समाजका गणेश मिश्र र सिद्घराज ओझाको जोडी द्वितीय बनेका छन् । आयोजकका दीपेन्द्र खड्का र दीपेन्द्र पुलामी तथा मध्यपश्चिम नापी समाजका कृष्ण समाली र ठगेन्द्र रानाको जोडी सान्त्वना बनेका छन् ।
प्रतियोगितामा १६ जोडीको सहभागिता रहेको थियो । त्यस्तै नापी भित्रको भेट्रान तर्फ ११ टिमले प्रतिस्पर्धा गरेकामा सुदूरपश्चिम प्रदेशका प्रकाश कुवर र शिवलाल चौधरी प्रथम, सुदूरपश्चिमकै गोपाल रोकाय र भुवन शाही द्वितीय, खिम राना र सालिकराम पुन तथा रामबहादुर तामाङ र दिनेश बकुन्चेकाे जोडी सान्त्वना बनेका छन् ।
जुनियर तर्फ ३६ जोडीले प्रतिस्पर्धा गरेकामा लक्ष्मण लामिछाने र प्रणवराज थारुको जोडी प्रथम, लक्ष्मण योगी र खगेन्द्र चौधरीको जोडी द्वितीय र नरेन्द्र घर्ती र चित्र ओली तथा सञ्चित ओली र पवन पाण्डेकाे जोडी सान्त्वना भएका आयोजकले जनाएको छ ।
त्यसै गरी भलिबल तर्फ रुकुमेली नापी समाज तृतीय भयको छ । प्रतियोगिता फिटनेस पार्क बसुन्धरा काठमाडौँमा भएको थियो । नेपाल सर्भे एसोसिएसनका अध्यक्ष प्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विजेता खेलाडीहरूलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
विजेता रुकुमेली नापी समाजका खेलाडीले प्राप्त ट्रफी र पुरस्कार संस्थाका अध्यक्ष गणेश खडका मार्फत संस्थालाई हस्तान्तरण गरेका छन् । खेलमा विजेता भई संस्थाको शिर उच्च राखेकोले संस्थाको तर्फबाट खेलाडीहरूलाई सम्मान गर्ने रूकुमेली नापी समाजले जनाएको छ ।




-1759842583.jpg)