
सोमबार राजधानी काठमाडौँ सहित देशका विभिन्न ठाउँबाट सुरु भएको जेन–जीको आन्दोलन रुकुम पश्चिममा पनि सुरु भएको छ । आज बिहानैबाट जिल्लाका विभिन्न ठाउँमा स्कुले बालबालिका देखि अन्य व्यक्तिहरू आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनमा निर्मम दमन गरी राज्यले हत्या गरेको विरोधमा जिल्लामा आज बिहानै देखि आन्दोलन सुरु भएको हो । आन्दोलनमा सहभागीहरूले सरकारका विरुद्धमा चर्को नाराबाजी गरेका छन् । स्वतः स्फूर्त रूपमा प्रदर्शनहरू भइरहेका छन् ।
चौरजहारी, सानीभेरी, मुसिकोट, आठबिसकाेट लगायतका ठाउँहरूमा आन्दोलन जारी छन् । भ्रष्टाचारका विरुद्धमा आन्दोलनमा उत्रिएका जेन जीहरुमा सरकारले निर्मम दमन गरेको थियो । जसबाट हालसम्म १९ जनाको ज्यान गइरहेको छ । सयौँ घाइते छन् ।
जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन आज थप तीव्र रूपमा देशभरमा फैलिएको छ । आज अभिभावक तथा अन्य व्यक्तिहरू समेत आन्दोलनमा उत्रिएका छन् । दोस्रो दिनको आन्दोलनमा नेताका घर तथा अन्य सार्वजनिक संरचनालाई टार्गेट गरिएको छ ।