Kakhara सबैको खबर सम्पूर्ण खबर
कैलदेउमा भएको खेलकुद प्रतियोगिताकाे खर्च विवरण सार्वजनिक

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा भदौ पूर्णिमाको अवसरमा आयोजित खेलकुद सहितका कार्यक्रमको खर्च विवरण सार्वजनिक गरिएको छ । आयोजक कैलदेउ यूथ क्लबले कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको हो ।

क्लबका अनुसार कार्यक्रमका लागि सङ्कलन भएको मध्य ५७ हजार १ सय ५७ रुपैयाँ बचेको छ । कार्यक्रमका लागि देश तथा विदेशमा रहेका व्यक्तिहरूबाट ४ लाख ६४ हजार १ सय रुपैयाँ सङ्कलन भएको थियो । जसमध्ये कार्यक्रममा ४ लाख ६ हजार ९ सय ४३ रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष यतकुमार बोहराले जानकारी दिनुभयो । 

कार्यक्रमबाट सबै खर्च कटाएर ५७ हजार १ सय ५७ रुपैयाँ क्लबलाई फाइदा भएको अध्यक्ष बोहराले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्तिले नगद तथा वडा नम्बर १ को कार्यालयबाट खेल सामग्री तथा कैलदेउ निवासी लिलबिर बुढाथोकीबाट सटफुट सहयोग भएको उहाँले बताउनुभयो ।

खेलाडीहरूलाई जर्सी, खाजा, नास्ता, कप, मेडल, प्रमाणपत्र, सम्मान पत्र, फोटो फ्रेम, ब्याज, खादा, क्लबको झन्डा, राष्ट्रिय झन्डा, सूचना ब्यानर तथा प्रचारप्रसार सामाग्री, स्कोर बोर्ड र पुरस्कार लगायतमा खर्च भएको क्लबले जनाएको छ । क्लबले हरेक वर्ष जस्तै यो वर्ष पनि भदौ पूर्णिमा मेलाको अवसरमा भलिबल, सटफुट, महिला पुरुष रसाकसी, भाले तान्ने सहित लोक नृत्य तथा झाँकी प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो । 

कुन प्रतियोगिता कसले जिते ?
मेलाको अवसरमा आयोजित भलिबलमा आयोजक कैलदेउ यूथ क्लबको आयोजक सी समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । उसले नगद ५० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।   

दोस्रो भएको रुकुम भलिबल टिमले ३० हजार सहित कप, मेडल र प्रमाण पत्र तथा तेस्रो भएको बाँफिकोट गाउँपालिका ९ को टिमले नगद २० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको बताइएको छ ।  सटफुट तर्फ बाँफिकोट ९ का अंगत बिक प्रथम, बाँफिकोट १० का भूपाल मल्ल द्वितीय र मुसिकोट १ का लिलबिर बुढाथोकी तृतीय हुनुभयो । उहाँहरूले क्रमशः ३ हजार, २ हजार र १ हजार सहित प्रमाण पत्र प्राप्त गर्नुभयो । 

पुरुष रस्सा कस्सी तर्फ लालबिर बोहराको समूह विजयी भई ७ हजार सहित प्रमाणपत्र प्राप्त गर्दा महिला रस्सा कस्सी तर्फ वसन्ता कलेलको समूह विजयी भई ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । भाले तान्ने तर्फ भने बाँफिकोट ९ का बुद्धि बिस्टले रातो भाले सहित प्रमाणपत्र जितेको बताइएको छ । 

आयोजकका अनुसार लोक नृत्य तथा स्थानीय झाँकी प्रदर्शनमा सहभागी समूहलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update