
रुकुम पश्चिमका २ ठाउँको निषेधाज्ञा हटाइएको छ । जेन–जी आन्दोलनका कारण बनेको असहज परिस्थितिका कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा लागेको निषेधाज्ञा हटाइएको हो भने जिल्ला कारागार आसपासमा भने निषेधाज्ञा जारी नै छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जिल्लाका २ ठाउँमा लगाइएको निषेधाज्ञा हटाउनुभएको हो भने जिल्ला कारागारमा भने जारी नै राख्नुभएको हो । जेन–जी आन्दोलनको फाइदा उठाउँदै भाद्र २४ गते जिल्ला कारागारबाट ८८ जना कैदी बन्दी भागेका थिए ।
जसमध्ये हालसम्म ५७ जना कैदी बन्दी कारागार फर्काइएका छन् । ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो भने २ जना आफै कारागार फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भाद्र २४ गते कारागार कार्यालयबाट केही कैदी बन्दी फरार भएकोले कारागारको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन भाद्र २७ गते बेलुकी ८ बजेदेखि जारी निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहित) को दफा ६ (३ क) बमोजिम जारी राखिएको प्रमुख जिल्ला अधिकारी थानीद्वारा जारी निषेधाज्ञा आदेशमा भनिएको छ ।
निषेधित क्षेत्र जिल्ला कारागार आसपासमा निश्चित गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला कारागारको २ सय मिटर वरिपरि बिना स्वीकृति ५ जना भन्दा बढी व्यक्ति आवतजावत र भेला तथा जुलुस गर्न नपाइने आदेशमा उल्लेख छ । यसो गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।