Kakhara सबैको खबर सम्पूर्ण खबर
क्याम्पस सभा सदस्यको आवेदन खुलाउन शीतल क्याम्पसका विद्यार्थीहरूको माग 

रुकुम पश्चिमको शीतल क्याम्पसका विद्यार्थीहरूले क्याम्पस सभा सदस्यको आवेदन खुलाउन माग गरेका छन् । आइतबार क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरूले क्याम्पस सभा सदस्यहरूको आवेदन प्रक्रिया २ दिन भित्रमा खुला गर्न माग गरेका हुन् । 

शीतल क्याम्पसको सञ्चालन तथा व्यवस्थापन समितिको वैधानिक पुनर्गठन लामो समय देखि नभएको भन्दै विद्यार्थीहरूले क्याम्पस सभा सदस्यको आवेदन खुलाउन क्याम्पस प्रशासनलाई आग्रह गरेका छन् । यसले गर्दा क्याम्पस प्रशासन र विद्यार्थी हुँदै समुदायमा अनिश्चितता र असुविधा उत्पन्न गरेको तथा यो विषयले आफूहरूको ध्यानाकर्षण भएको विद्यार्थीहरूको भनाई छ । 

तोकिएको समयमा माग पुरा नभए चरणबद्ध र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू ल्याउन बाध्य हुने विद्यार्थीहरूले चेतावनी दिएका छन् । यसबाट सृजित हुने असुविधाप्रति आफूहरू दुःखी हुने र त्यसको जिम्मेवारी क्याम्पस प्रशासनकै हुने विद्यार्थीहरूले क्याम्पस प्रमुख रमेश लामिछानेलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

साथै विद्यार्थीहरूले सकारात्मक समाधान र सहकार्यमा विश्वास गर्ने र क्याम्पस प्रमुखको पहलले यो विषयलाई शीघ्र समाधान तर्फ लैजाने विश्वास समेत व्यक्त गरेका छन् । यो क्याम्पस त्रिभुवन विश्व विद्यालयको सामुदायिक क्याम्पस हो ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update