Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कारागारबाट कैदी बन्दी भागेको एक हप्ता पुरा, कति भए पक्राउ ?

रुकुम पश्चिम कारागारबाट फरार भएका मध्ये ६१ जना कैदी बन्दी पक्राउ परेका छन् । गत मङ्गलवार जेन-जीको आन्दोलनको मौका पारी भागेका ६१ जना पक्राउ परेका हुन् । बाँकी २७ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका ६ जना कैदी बन्दी आफै प्रहरीको सम्पर्कमा आएका हुन् भने अन्यलाई पक्राउ गरिएकाे हाे । जेन–जी आन्दोलनको मौका पारेर ८८ जना कैदी बन्दी कारागारको ढोका फोडेर भागेका थिए । फरार रहेकाहरुको खोजी तीव्र रूपमा भइरहेको उहाँको भनाई छ । फरार हुनेहरूमा गम्भीर प्रकृतिको अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेकाहरू समेत रहेको प्रहरीले जनाएको छ । 

फरार कैदी बन्दीहरूलाई गत बिहीबार नै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुटा छुट्टै सूचना जारी गरी स्वतःस्फूर्त सम्पर्कमा आउन अनुरोध गरेका थिए । सम्पर्कमा नआए कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । साथै फरार कैदी बन्दी लुकिछिपी बसेको थाहा पाए वा आफ्नो टोलमा नयाँ र शङ्कास्पद व्यक्ति आएमा १०० मा फोन गरी तत्काल प्रहरीलाई खबर गर्न आम सर्वसाधारणलाई अनुरोध गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update