रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा जनक–सुदन स्मृति कप रनिङ शिल्डको तेस्रो संस्करण सुरु भएको छ । खलङ्गाको बराहटाकुरा टुँडिखेलमा प्रतियोगिता सुरु भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । आजबाट सुरु भएको प्रतियोगिता असोज ५ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र जाजरकोटका गरी २२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । आज ३ खेल भएका छन् । जसमा परिवर्तन ४ राेल्पा, सानीभेरी ५ र मुसिकोट ९ विजयी भएका छन् ।
पहिलो खेलमा परिवर्तन ४ ले मुसिकोट ३ लाई ३-०, दोस्रो खेलमा सानीभेरी ५ ले बाँफिकाेट ८ लाई ३-१ र तेस्रो खेलमा मुसिकोट ९ ले सानीभेरी ६ लाई ३-० को सोझो सेटमा पराजित गर्याे ।
प्रतियोगिता आजबाट सुरु भए पनि उद्घाटन भने भोली हुने छ । जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा आज सरकारले शोक बिदा दिएकोले औपचारिक कार्यक्रम गर्न नमिल्ने भएकोले खेल सुरु गरे पनि औपचारिक उद्घाटन भने भोली हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २÷२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो ।
सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।




-1759842583.jpg)