Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइने 

रुकुम पश्चिममा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । आज जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले जिल्लामा आज, भोली र पर्सी ३ दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । 

बैठकले असोज २, ३ र ४ गते सबै स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ संस्थाका कार्यालयहरूमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने, कार्यालय तथा घर घरमा दीप प्रज्वलन गर्ने र सबै निकायहरूले आफ्नो कार्यालय परिसरको सरसफाइ गर्ने निर्णय गरेको छ । 

त्यस्तै स्थानीय तहहरूमा सम्बन्धित स्थानीय तहका प्रमुख/अध्यक्षको अध्यक्षतामा मन्त्रालयको पत्रमा उल्लेख भए बमोजिम गर्ने, वडा स्तरमा सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा समिति बनाएर संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय भएको छ । दिवसको अवसरमा विभिन्न सञ्चार माध्यमहरूमा दिवससँग सम्बन्धित सन्देश तथा कार्यक्रमहरू प्रकाशन–प्रसारण गर्न लगाउने पनि निर्णय भएको छ । 

त्यस्तै दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा सम्बद्ध स्थानीय सङ्घ–संस्थाहरू समेतको समन्वयमा नेपाल पत्रकार महासङ्घले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

दिवसको अवसरमा असोज ३ गते बिहान ८ः३० बजे जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, सङ्घसंस्थाका प्रमुख समेतको सहभागितामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले बताउनुभयो । 

प्रजिअ थानीले संविधान जारी भएको दिनको सम्झनामा मनाइने यो दिवसलाई अर्थपूर्ण बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै आ–आफ्नो तर्फबाट सहभागी हुन उहाँले सम्पूर्ण जिल्लावासीमा आग्रह समेत गर्नुभयो ।। 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update