
रुकुम पश्चिमको जेठो विद्यालय त्रिभुवन जनता मावि खलङ्गाले ७३ औँ वार्षिकोत्सव मनाएको छ । साताव्यापी कार्यक्रम गरेर विद्यालयले वार्षिकोत्सव मनाएको छ । असोज १ गते वार्षिकोत्सव भए पनि सरकारले शोक बिदा दिएकोले आज असोज २ गते वार्षिकोत्सव विशेष औपचारिक कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुसिकोट १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, २ का अध्यक्ष दिनेश खड्का, १० का वडाध्यक्ष धनबहादुर खड्का वसन्त, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । खेलकुद, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई आजको औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिएको विव्यस अध्यक्ष केसीले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू समेत राखेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक डम्बरबहादुर खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गोपीराम केसीले गर्नुभएको थियो ।