Kakhara सबैको खबर सम्पूर्ण खबर
जनक–सुदन स्मृति कप भलिबल: औपचारिक उद्घाटन, आज क-कसले जिते ?

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा जनक–सुदन स्मृति कप रनिङ शिल्डको तेस्रो संस्करणको औपचारिक उद्घाटन भएको छ । खलङ्गाको बराहटाकुरा टुँडिखेलमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिता हिजो बाटै सुरु भएको भए पनि हिजो शोक बिदा परेकोले उद्घाटन समारोह आज सञ्चालन गरिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख र प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख जगदीशचन्द्र हमाल, प्रमुख अनुसन्धान अधिकृत नेबबहादुर राना, मुसिकोट नगरपालिका १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, ३ का अध्यक्ष दशरथ केसी, ५ का अध्यक्ष समीरजङ्ग मल्ल, १० का अध्यक्ष धनबहादुर खड्का वसन्त, प्रमुख प्रायोजक साझा मुराल अस्पतालका सञ्चालक डाक्टर दीपक पुन लगायतको आतिथ्यता रहेको थियो । 

उद्घाटन समारोहमा स्वर्गीय जनक शाह र सुदन श्रेष्ठको फोटोमा अबिर आवरण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ । रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका गरी २२ टिमले प्रतिस्पर्धा गरिरहेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष बुढाले जानकारी दिनुभयो । 

आज तीन वटा खेल भएका छन् । आजका खेलमा सानीभेरी ३, सानीभेरी ४ र बाँफिकोट गाउँपालिका ४ विजयी भएका छन् । सानीभेरी ३ ले बाँफिकोट १० लाई ३–२, सानीभेरी ४ ले मुसिकोट ४ लाई ३–० र बाँफिकोट ४ ले आठबिसकोट नगरपालिका वडा नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २÷२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो । 

सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । 

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update